ठगी गर्ने चौधरी बाबा प्रहरीको फन्दामा
आफूलाई ‘चौधरी बाबा हुँ’ भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
आफूसँग वनझाँक्रीको हड्डी भएको भन्दै ठगी गर्ने समूहमध्येका सुनसरी इटहरी उपमहानगरपालिका–२२ बस्ने ईद्रिस मियाँलाई इलाका प्रहरी कार्यालय पकलीको टोलीले बुधबार इटहरीबाट पक्राउ गरेको हो । उनलाई बिहीबार जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दा अन्तरगत अनुसन्धानका लागि म्याद थप गरिएको छ ।
मियाँसहितको समूहले आफूहरुसँग वनझाँक्रीको हड्डी भएको र उक्त हड्डी हेर्ने व्यक्तिलाई दैवी शक्ति प्राप्त भई चिताएको सबै कामहरु पूरा हुने भन्दै काठमाडौं गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटीका बच्चुप्रसाद पुडासैनीसँग हड्डी हेर्नका लागी पूजा गर्नुपर्छ भन्दै १ लाख ६५ हजार नगद र पाँच लाख बराबर ठगेको प्रहरीले जनाएको छ ।
मियाँको साथबाट बाँसको ढुङग्रीभित्र सेतो रङको कपडाले बेरेर राखेको पाँच इन्च लामो हड्डीको टुक्रा तथा मोहमद मुस्ताफा मियाँको नाममा जारी भएको क्रिस्ट बैङको पाँच लाख रुपैयाँको चेकसमेत बरामद भएको छ ।