अष्ट्रेलियामा नेपालीका दोश्रो पुस्ताको संगीत मोह, आयुष्काको आवाजमा झुम्यो दुनियाँ
अष्ट्रेलियामा नेपालीको बसोबासको ठ्याक्कै हिसाब नभएपनि ४० वर्षको हाराहारीदेखि नेपालीले यहाँ पाइलो टेकेको ईतिहास छ । यसको अर्थमा अष्ट्रेलियामा पहिलो र दोश्रो मात्र होइन तेश्रो पुस्ता पनि आइसकेको छ । पहिलो पुस्तालाई नेपाल र नेपालीप्रति औधी लगाव छ । तर, दोश्रो र तेश्रो पुस्तालाई राम्रोसँग नेपाली पनि बोल्न आउँदैन । तर, उनीहरुले आफ्नो उद्गमस्थलको मायालाई भने जहिल्यै पनि संगाल्ने र मौकामा अंगाल्ने गर्दै आएका छन् । नेपाली कार्यक्रमहरुमा उनीहरुको उपस्थिति पक्कै पनि अभिभावको करकै परिणाम त होइन होला । हो, यही कुरालाई प्रमाणित गर्दै दोश्रोपुस्ताकी अष्ट्रेलियावासी नेपाली आयुष्का खनियाँले । आयुष्काको उमेर अहिले मात्र १० वर्ष भएको छ । तर, उनले भर्खरै नेपालमा पुगेर अल्मोडा उप्रेतीसँग चर्चित बालगीत जुन त लग्यो ताराले गाएकी छिन् । उनको आवाज यति स्पष्ट र सुरिलो सुनिन्छ कि एकपटक सुनेर कोही पनि त्यसै बस्न सक्दैन । युट्युबमा लाखभन्दा बढीले हेरिसकेको यो गीतमा उनको गायकीको सबैले प्रशंसा गरेका छन् । अष्ट्रेलियाको क्यानबेरा निवासी युवराज खनियाँ र अञ्जना खनियाँकी जेठी छोरी अनुष्का २ वर्षको उमेरमा यता आएकी थिइन् । राम्रोसँग उनलाई नेपाली बोल्न पनि आउँदैन । तर, उनी नेपाली गीत संगीतप्रति औधि रुचि राख्छिन् । यतिबेला गिटारको क्लास लिइरहेकी आयुष्काको यसअघि पनि दुईवटा भिडियो युट्युबमा अपलोड भइसकेको छ । खासमा यस पटक उनी आमासँग कृपा अनप्लग्डमा गाउँछु भन्दै पुगेकी थिइन् । तर, जब अल्मोडा उप्रतिसँग भेट भयो उनले भने, मैले खोजेको ठ्याक्कै यस्तै आवाज हो । यो गीत मसँग गाउन सक्छिन् ? त्यसपछि तयार भएको यो गीतको भिडियो यहाँ हेर्न सक्नुहुनेछ ।