होसियार हुनुहोस्, फोनबाट कसैलाई पनि आफ्नो व्यक्तिगत जानकारी नदिनुहोस्
यतिबेला सिड्नी लगायत न्यूसाउथवेल्समा एउटा आतंक छाएको छ । महावाणिज्यदूतको कार्यालयबाट फोन गरेको भन्दै नेपाली समूदायका व्यक्तिहरुलाई उनीहरुको व्यक्तिगत जानकारी माग्ने क्रम बढ्न थालेपछि न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले सचेत रहन आग्रह गर्नुभएको छ । महावाणिज्यदूत खड्काका अनुसार कन्सुल जनरलको कार्यालयको नम्बर ०२९४६००३८८ बाट यस्तो फोन विभिन्न व्यक्तिलाई गरिएको गुनासो आएपछि तत्कालै प्रहरीलाई खबर गरिसकिएको छ र प्रहरीले यस विषयमा अनुसन्धान पनि अघि बढाएको छ । खड्काका अनुसार न त महावाणिज्यदूतको कार्यालयले टेलिफोनबाट यस किसिमको जानकारी माग्ने गरेको छैन । मुख्यतः फोन गरिएका व्यक्तिहरुको जन्म मिति, घरको ठेगाना, परिवारमा भएका सदस्यहरुको नाम आदि लगायतका जानकारी मागिएबाट यो ठगी गर्ने उद्देश्यले नै गरिएको हो भन्ने देखिएको छ । महावाणिज्यदूत खड्काले यस किसिमको जानकारी कसैलाई पनि फोनमा उपलब्ध नगराउन र सचेत हुँदै यदि कसैले यस्तो जानकारी माग गरेमा निजको फोन नम्बरसहित तत्कालै प्रहरीलाई सूचित गर्न पनि आग्रह गर्नुभएको छ । यस विषयमा आफ्ना साथीभाईलाई पनि जानकारी गराउन र ठगी हुनबाट बच्न समेत खड्काको आग्रह छ ।