बोको हरामको अपहरणमा परेकी एक छात्राको दुई वर्षपछि उद्धार


Boko Haramनाइजेरियाको विद्रोही संगठन बोको हरामले दुई वर्ष अघि अपहरण गरेकी एक छात्राको उद्दार भएको छ । बोको हरामले नियन्त्रणमा राखेका २ सय १९ छात्रा मध्ये एकको उद्धार भएको हो । सन् २०१४ को अप्रिल १४ मा उत्तर पूर्वी नाइजेरियाको चिबोकमा रहेको एक स्कुलबाट बोको हरामले दुई सय ७६ स्कुले छात्रालाई अपहरण गरेकामा केही छात्रा त्यसबेला नै भागेका थिए । अमिना अलि न्केक नाम गरेकी किशोरी क्यामरुनको सीमा नजिकको जंगलमा फेला परेको मानवअधिकारवादी कार्यकर्ताले बताएका छन् ।

२ सय १८ छात्रा अहिले पनि बोको हरामको नियन्त्रणमा छन् । बोको हरामविरुद्धको कारबाहीमा सरकारी सेनालाई सहयोग गर्ने लडाकु समूहले अमिनालाई भेट्टाएका हुन् । उनको साथमा बच्चा पनि रहेको उद्धारकर्मीले बताएका छन् । उद्धार भएकी अमिना चिकोकको दक्षिणी भागमा रहेको माबालाला गाउँकी हुन् । उनीसँगै अपहरणमा परेका मध्ये २५ बालिका त्यही गाउँका थिए । अपहरणमा परेका बेला १७ वर्षकी अमिना अहिले १९ वर्ष पुगेको र उनलाई अब परिवारको जिम्मा लगाइने अधिकारकर्मीले बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?