धम्क्याएर एक करोड फिरौती माग गर्ने दुई जना पक्राउ
सुन व्यवसायीलाई धम्क्याएर पैसा असुल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको वुद्धनगरस्थित कन्काइ सुन चाँदी पसलका सञ्चाललसँग १ करोड रुपैयाँ फिरौती मागेको आरोपमा अपराध महाशाखाको टोलीले खोटाङका पुष्पराज राई र हस्तराज राईलाई पक्राउ गरेको हो ।
उनीहरुले विगत १७ दिनदेखि पसलका सञ्चालक राजेश रसाइलीलाई फोन गरेर १ करोड फिरौती मागेको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी सवेन्द्र खनालले जानकारी दिनुभयो । फिरौती नदिए छोराछोरी अपहरण गर्नेदेखि मार्ने धम्की दिएपछि पीडितहरु अपराध महाशाखा पुगेका थिए ।
एसएसपी खनालले एक करोडबाट सुरु भएको बार्गेनिङ २० लाखमा आइपुग्दा सहमति भएको बताउनुभयो । त्यही मौकामा प्रहरीले उनलाई पक्राउ गरेको उहाँको भनाइ थियो । पीडितले उजुरी गरे लगत्तै प्रहरीको निगरानीमा परेका दुवै जनालाई फिराती रकम असुल्न आउँदा पसलबाटै पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।