मेलबर्नमा मनाइयो उभौली पर्व, किराँत महोत्सवको आयोजना
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने किराँतीहरुले आफ्नो पर्व उभौली भव्यताका साथ मनाएका छन् । विगत १० वर्षदेखि बहुसांस्कृतिक शहर मेलबर्नमा मनाइँदै गरेको उभौलीको यस वर्षको महोत्सवमा पनि विगतमा जस्तै विभिन्न सांस्कृतिक कार्यक्रम गर्नुका साथै किराँत जातिको भेषभूषा, खाना पनि महोत्सवमा राखिएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमका साथ चलेको महोत्सवमा ह्याण्डिक्राफ्टहरुको पनि प्रदर्शनी गरिएको थियो । महोत्सवको उद्घाटन पश्चात बोल्दै भिक्टोरियन मल्टिकल्चरल कमिशनका प्रमुख तस्वीन टचेनले यस किसिमको गतिविधिलाई प्रोत्साहन गर्ने र भिक्टोरियामा बस्ने किराँतीहरुको मौलिकतालाई जगेर्ना गर्न सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यसैगरी मेलबर्न सिटीका काउसिन्सलर ज्याकी वाट्सले विविधतामा एकता नै मेलबर्नको विशेषता भएको भन्दै समूदायमा एकअर्कालाई सहयोग गर्ने र एकअर्काको भाषा, संस्कृति र कलाको जगेर्नामा ध्यान दिन सबैलाई आह्वान गर्नुभयो । कार्यक्रममा ग्रिक समूदायका व्यक्तिहरुले परम्परागत नृत्य प्रस्तुत गरेका थिए भने करेन ग्रुपले बर्मेली नृत्य देखाएका थिए । यसैगरी आदिवासीहरुको फ्युजन संगीत बरेन्सर र वाइनीले प्रस्तुत गरेका थिए । सिद्धार्थ राई र सन्तोष मम्बाले नेपाली भाषामा गीत प्रस्तुत गरेका थिए भने सौरभ ठकुरीले डिजे सेसन सञ्चालन गरेका थिए । यसैगरी किराँतहरुको परम्परागत साकेला, च्याब्रुंग नृत्य भिक्टोरियन किराँत समाजले प्रस्तुत गरेका थियो जसमा नृत्यमा रुपा राई, देउकुमारी राई साथ दिएका थिए भने प्रसाद सुब्बाले लिड ड्रमरको रुपमा आफूलाई प्रस्तुत गरेका थिए । महोत्सवको दिन केही वर्षात् भएपनि विभिन्न भेषभूषामा सजिएर किराँती समूदायका सदस्यका साथै अन्य नेपाली समूदाय पनि सहभागी भएको थियो । भिक्टोरियामा सन् २००७ देखि कोबर्ग लेक पार्कमा आयोजना हुँदै आएको किराँत फेष्टिभर सन् २०१३ देखि भने बिरारुंग पार्कमा आयोजना हुँदै आएको छ ।