आठ निर्णय गर्दै सकियो एनआरएन अष्ट्रेलियाको बैठक, यस्तो छ वाक फर वेलफेयरको हिसाब
एक लाख डलरको विद्यार्थी कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यका साथ एनआरएन अष्ट्रेलियाले सञ्चालन गरेको वाक फर वेलफेयरमार्फत हालसम्म करिब ५४ हजार डलर संकलन भएको सार्वजनिक भएको छ । एनआरएन अष्ट्रेलियाको शनिबार सम्पन्न बैठकमा यस्तो जानकारी गराइएको हो । सिड्नीमा सम्पन्न बैठकमा उक्त कार्यक्रमका लागि १५ हजार डलर खर्च भएको र ३९ हजार डलर मौज्दातका साथै ८ हजार डलर उठ्न बाँकी रहेको पनि जानकारी प्रस्तुत गरिएको थियो । खर्च भएको १५ हजार डलरमध्ये ९ हजार डलर वाक फर वेलफेयरमा प्रयोग गरिएको टिसर्टमा खर्च भएको छ । बाँकी ६ हजार डलर कार्यक्रम आयोजनाका क्रममा विविध शीर्षकमा खर्च भएको जानकारी प्रवक्ता डा. रेग्मीले दिनुभयो ।
कल्याणकारी कोषका लागि लक्ष्य गरिएको एक लाख डलरमा बाँकी रकम अन्य विविध गतिविधिका साथै विभिन्न कलेज र युनिभर्सिटीहरुबाट सहयोग स्वरुप संकलन गर्ने लक्ष्य राखिएको छ । एनआरएन अष्ट्रेलिायको बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले बैठकले अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना गरिने नेपाल महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति बनाउँदै विदेशीहरुको समेत संलग्नतालाई बढाउने निर्णय गरेको जानकारी दिनुभयो । बैठकपछि जारी गरिएको विज्ञप्तिमा आठ बुँदामा बैठकका विषयहरु सार्वजनिक गरिएको छ । जस अनुसार वाक फर वेलफेयरको हिसाब, पाथीभरा श्रद्धाश्रममा हालसम्म गरिएको योगदान र आगामी दिनमा यसलाई अघि बढाउने विषय, एनआरएन अष्ट्रेलिया मार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्ले सञ्चालन गरेको आंग खस्ने समस्या भएका महिलाहरुको उपचारमा गरिएको योगदानको विषय समेटिएको छ । आंग खस्ने समस्या भएका नेपाली महिलाहरुको उपचारका लागि सञ्चालन गरिने परियोजनाका लागि एनआरएन अष्ट्रेलियाले एक लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । बैठकमा एनआरएन आईसीसी सदस्य भोमा लिम्बुले यस परियोजनाबारे जानकारी गराउनुभएको थियो । यसैगरी एनआरएनको हालै न्यूजिल्याण्डमा सम्पन्न ओसेनिया क्षेत्रीय बैठकबारे संयोजक महेन्द्र लम्सालले जानकारी दिनुभएको थियो भने बैठकले फिजीमा एनआरएन फिजी खोल्ने विषयमा निर्णय गरेको लम्सालले बैठकमा जानकारी दिनुभएको थियो । यसैगरी बैठकले नेपाल महोत्सवका लागि तय गरिने नारा आगामी सोमबारभित्र फाईनल गर्ने निर्णय पनि गरेको छ । यस्तै एनआरएन अष्ट्रेलियालाई संघीय स्वरुपमै केन्द्रीकृत दर्ताका लागि अध्यक्ष सुरेन्द्र सिग्देलको संयोजकत्वमा कमिटी बनाई अध्ययन गर्ने निर्णय पनि भएको छ । यसैगरी बैठकले आगामी जुन १२ तारिखबाट सुरु गर्न लागिएको एनआरएन कपलाई सफल बनाउने निर्णय पनि गरेको छ । एनआरएन कपमा फुटबल, भलिबल, बास्केटबल र क्रिकेटका प्रतियोगिताहरु हुनेछन् । बैठकपछि एमएनटीभीसँग कुरा गर्दै एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देलले अत्यन्तै सौहाद्र्रपूर्ण रुपमा बैठक सम्पन्न भएको बताउनुभयो । उहाँले अब एनआरएन स्पोर्टस, एनआरएनको संघीय ढाँचामा दर्ता र नेपाल महोत्सवलाई सबै राज्यमा सफलतापूर्वक सम्पन्न गर्ने विषयमा आफुहरु केन्द्रित बन्ने प्रतिक्रिया दिनुभयो । बैठककै विषयमा कुरा गर्दै एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोतानेले पनि हाल सञ्चालित परियोजनाहरुको सफलतापूर्वक कार्यान्वयन र आगामी परियोजनालाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकामा बैठक केन्द्रित रहेको जानकारी दिनुभयो ।
बैठकपछि जारी विज्ञप्ति यस्तो छ