पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमका लागि न्यूसाउथवेल्सका महावाणिज्यदूत दिपक खड्काको १० लाख सहयोग
एनआरएन अष्ट्रेलियाले विराटनगरमा निर्माण गर्न लागेको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको लागि न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले १० लाख सहयोग गर्नुहुनेभएको छ ।
आइतबार परोपकारी श्रद्धाश्रम निर्माण समितिका पदाधिकारीहरुसँगको छलफलमा खड्काले उक्त प्रतिबद्धता जनाउनुभएको हो । कल्याणकारी परियोजना संयोजक रमेश पाण्डेका अनुसार खड्काले भवन निर्माणका लागि १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
महावाणिज्यदूत खड्का सिड्नीको स्थापित व्यवसायी हुनुहुन्छ । यसका साथै, नेपाली समूदायलाई आइपर्ने विभिन्न अवसरहरुमा उहाँले सहयोग गर्दै आउनुभएको छ । सिड्नीमा क्राउन ईन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी सञ्चालन गर्नुहुने खड्काले नेपालमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रकै लागि सहयोग गर्दै आउनुभएको छ । नेपालमा दोलखा घर भई हंगकंग हुँदै अष्ट्रेलियाको भूमिमा यतिबेला स्थापित व्यवसायीको छवि बनाउनुभएका खड्का अवैतनिक महावाणिज्यदूतको रुपमा न्यूसाउथवैल्समा नेपालीले आयोजना गर्ने हरेकजसो कार्यक्रममा उपस्थित हुनुहुन्छ । एमएनटीभीसँगको कुराकानीमा उहाँले भन्नुभयो, “खासै यो सबैलाई बताउनुपर्ने विषय त होइन ।
तर, पीडामा रहेका नेपालका जेष्ठ नागरिकहरुको सेवा गर्ने पवित्र भावले जुन परियोजना अघि बढिरहेको छ त्यसमा एउटा ईंटा थप्ने अवसर पाएकोमा म खुशी छु । हामी सबैले मिलेर यो अभियानलाई सफल बनाउनु पर्दछ भन्ने मेरो विचार छ ।”
एनआरएन अष्ट्रेलियाले सन् २०१४ बाट थालेको यो परियोजनामा भूकम्प र नाकाबन्दीका कारण केही सुस्तता आएपनि अब छिटो सम्पन्न गर्नका लागि सहयोग पुर्याउन एनआरएनले अष्ट्रेलियाका विभिन्न राज्यहरुमा रहेका नेपालीहरुलाई आह्वान गरेको छ । यसअघि विराटनगर घर भई हाल सिड्नी निवासी मुकेश रेग्मीले पनि ११ लाख सहयोग गर्नुभएको थियो । रेग्मी रकडेलमा मम हाउसको सञ्चालक हुनुहुन्छ । यससँगै हाउसकिपिंग र क्लिनिंग कम्पनी पनि सञ्चालन गर्नुहुन्छ । १० लाख वा त्यसभन्दा बढी सहयोग गर्ने व्यक्तिको नाममा श्रद्धाश्रमको एउटा कोठाको नामाकरण गरिनेछ ।