गिरिजाको योजनामा भएको विमान अपहरणको वृत्तचित्र ‘प्रजातन्त्रका लागि अपहरण’ मेलबर्नमा प्रदर्शन
नेपाली काँग्रेसले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि थालेको सशस्त्र युद्धका क्रममा गरिएको विमान अपहरणको विषयवस्तु समेटिएको वृत्तचित्र हाईज्याक फर डेमोक्रेसी मेलबर्नमा प्रदर्शन गरिएको छ । स्थानीय बिगबेली रेष्टुरैन्टको हलमा देखाइएको बृत्तचित्र हेर्न उल्लेख्य मात्रामा मेलबर्नबासी उपस्थित थिए । करिब ४८ मिनेटको यस वृत्तचित्रमा नेपाली काँग्रेसले गरेको सशस्त्र संघर्षलाई आर्थिक सहयोग अभाव भएपछि त्यसको पूर्तिका निम्ति विमान अपहरणको योजना कसरी बनेको थियो र यसलाई कसरी कार्यान्वयन गरियो भन्ने विषय केन्द्रमा छ । यसमा तत्कालीन समयका संलग्न व्यक्तिहरुसँग समेत अन्तर्वार्ता गरी वृत्तचित्र निर्माण गरिएको छ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजनामा विमान अपहरण गरिएको थियो । कार्यक्रममा बोल्दै वृत्तचित्रका निर्माता एवं निर्देशक जगत नेपालले आफुलाई त्यस विमानमा रहेको यात्रु खोज्न मात्रै २ वर्षको समय लागेको बताए । यसैगरी उनले आफ्नो तीन वर्षको अथक प्रयासपछि एउटा कालखण्डको प्रतिनिधित्व गर्ने यो घटनालाई पर्दामा उतार्न सफल भएको विचार राखेका थिए । उनले वृत्तचित्र हेर्नका लागि उत्साहपूर्वक सहभागी भएकाहरु सबैमा आभार पनि व्यक्त गरे । कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ उनले दिएका थिए । कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले बोल्दै प्रजातन्त्रका लागि भएका विभिन्न गतिविधिमध्ये विमान अपहरणजस्तो तत्कालीन समयमा गरिएको एउटा दुस्साहसिक निर्णयलाई वृत्तचित्रमा समेट्नु कठीन कार्यभएपनि यसमा पत्रकार नेपाल सफल बनेको बताउनुभयो । उहाँले तत्कालीन परिस्थितिमा नेपालबाट विमान अपहरण गरी भारतको भूमिमा अवतरण गराई पुनः नेपाल नै विमानलाई सकुशल फिर्ता पठाइएको घटना दुर्लभ भएको र यति हुँदा पनि भारतीय पक्षले पत्तो समेत नपाएको तथ्य रोचक रहेको बताउनुभयो । कार्यक्रममा न्याभका अध्यक्ष डा. अनुपम पोखरेलले सफल वृत्तचित्र बनाएकोमा पत्रकार नेपाललाई बधाई दिएका थिए । वृत्तचित्र प्रदर्शनको संयोजक पत्रकार पेशल लुईटेलले गरेका थिए भने एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोताने, एनआरएन भिक्टोरिया संयोजक केशव कँडेल लगायत अन्य विभिन्न संघ संगठनका प्रतिनिधिहरु उपस्थित थिए । पत्रकार नेपाल वृत्तचित्रको प्रदर्शन पश्चात सिड्नी हुँदै आगामी आइतबार नेपाल प्रस्थान गर्दैछन् ।