माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अष्ट्रेलिया भ्रमणका क्रममा पहिले मेलबर्न आइपुग्ने
जनप्रगतिशील मञ्चको अष्ट्रेलिया अधिवेशनको प्रमुख अतिथि भएर आगामी जुन २३ तारिखका दिन अध्यष पुष्पकमल दाहाल प्रचण्ड मेलबर्न आउने निश्चित भएको छ । काठमाडौंबाट मेलबर्नमा आई यहाँ दुई दिन विभिन्न कार्यक्रमहरुमा सरिक हुने योजना बनेको छ । यसपछि अधिवेशनको उद्घाटनका लागि सिड्नी जाने कार्यक्रम तय भएको मञ्च निकट एक नेताले एमएनटीभीलाई जानकारी दिए । “सोमबारसम्ममा अध्यक्षको भेटघाट र कार्यक्रमहरु तय हुनेछन् । अहिले हामी योजनाकै चरणमा रहेकोले थप जानकारी दिन भने सक्ने अवस्थामा छैनौं । दूतावासको तर्फबाट पनि पूर्वप्रधानमन्त्री एवं प्रमुख दलको नेताको हैसियतमा यहाँका राजनीतिक दलका शीर्ष नेतागणसँग भेट गराउने प्रयास जारी छ”, ति नेताले भने । “तर, काठमाडौंबाट मेलबर्नमा आउने भने निश्चित भएको छ । नेपालमा कुनै राजनीतिक घटनाक्रम विकसित भएन भने यसपटक अध्यक्षले नै जनप्रगतिशील मञ्चको अधिवेशन उद्घाटन गर्नुहुनेछ”, ति नेताको भनाई छ ।
क्वीन्सल्याण्ड अध्यक्षमा राजु ढकाल निर्वाचित
यसैबीच, माओवादी केन्द्रको प्रवासी मञ्च नेपाली जनप्रगतिशील मञ्चको अष्ट्रेलियाको आगामी अधिवेशनलाई मध्यनजर गर्दै धमाधम विभिन्न राज्यहरुमा अधिवेशन सम्पन्न भइरहेका छन् । यसैक्रममा पछिल्लो पटक क्वीन्सल्याण्डमा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनले राजु ढकालको अध्यक्षतामा २५ सदस्यीय राज्य समिति निर्माण गरेको उक्त मञ्चले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै मञ्चले जनाए अनुसार क्वीन्सल्याण्डस्तरीय राज्यसमितिको उपाध्यक्षमा शरण भट्ट, सचिवमा प्रमोद दबाडी, सहसचिवमा बाबुज चालिसे, कोषाध्यक्षमा आविष्कार पाण्डे रहेका छन् । कृष्णप्रसाद पौडेललाई विशेष सल्लाहकार तोकेको नवनिर्वाचित कमिटीका सदस्यहरुमा विकास चपागाईं, संगीता पाण्डे, प्रकाश राई, नवराज कँडेल, सिर्जना पोखरेल, प्रदीप राई, मोहनबहादुर पन्त, राजन खनाल, प्रकाश दवाडी, सन्तोष पौडेल, भोजबहादुर कँुवर, अनीता राई, चेतन चालिसे, रमेश महर्जन, महेश ओली, देवेन्द्र श्रेष्ठ, राज विष्ट, सिर्जना पराजुली र अनु आचार्य रहेका छन् । सिड्नीमा सम्पन्न हुने अष्ट्रेलिव्यापी अधिवेशनको उद्घाटनका लागि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं आउने भएका कारण राज्यसमिति निर्माणमा पनि उत्साह थपिएको छ ।