अष्ट्रेलियामा भिजिट भिसामा अभिभावकहरु आउँदा अपनाउनुपर्ने सावधानी
अष्ट्रेलियामा नेपालीहरुको संख्या दिनदिनै बढ्दैछ । मुख्यतः उच्च शिक्षा अध्ययनका लागि यहाँ आउनेहरु अधिकांश छन् । उच्च शिक्षा अध्ययनका लागि आउँदा परिवारबाट टाढा रहेर यहाँको नयाँ शैली अनुसार आफुलाई ढाल्न निकैखाले समस्याहरुको उनीहरुले सामना गर्नुपर्दछ । यिनै समस्यामध्ये होम सिकनेस अर्थात् आफन्तजनको कमीको महसूस हुनु पनि एक हो । तर, जब उनीहरु अलिकति सजिलो अवस्थामा पुग्दछन् अथवा आफ्नो कुनै पारिवारिक घटना (जन्म, विवाह अथवा अन्य केही) को अवसरमा नेपालमा रहेका अभिभावकहरुलाई यहाँ बोलाउने गर्दछन् । यसरी केही निश्चित समयका लागि गरिने भ्रमणका क्रममा जुन साथ र सहयोग अभिभावकहरुबाट प्राप्त हुन्छ यसले ति सन्तानहरुको जीवन नै उज्यालो बन्ने गर्दछ । एक्लोपनबाट आएका मनोवैज्ञानिक समस्याहरु समाधान हुने गर्दछन् । अभिभावकहरुलाई यसरी बोलाउँदा केही कुरामा भने ध्यान दिनै पर्दछ । पहिलो कुरा अभिभावकहरुको स्वास्थ्य बिमा अनिवार्य हुनुपर्दछ । किनकि, उहाँहरुको लागि यो ठाउँ नयाँ हुन्छ अनि यो नयाँ ठाउँको खानपान, रहनसहन, हावापानी आदिका कारण स्वास्थ्य अवस्थामा पनि परिवर्तन हुनसक्छ । यसरी बिरामी भएको अवस्थामा अष्ट्रेलियाको महँगो उपचार शुल्क तिर्नुपर्ने बाध्यताले समस्या ननिम्त्याओस् भन्नका लागि पनि सुरुमै स्वास्थ्य बिमा गर्नु बुद्धिमानी हुन्छ ।
पूर्वसावधानीका रुपमा उहाँहरुको वर्कराईटबारे पनि सजग हुनु अत्यन्तै आवश्यक छ । केही व्यक्तिहरुले घरमा गरेको कामको लागि त केही हुँदैन नि ? भन्ने जिज्ञासा राखेका छन् । पक्कै पनि परिवारको सदस्यको रुपमा घरमा काम गर्दा, अथवा समाजमा कार्यरत रहँदा यसले कुनै असर गर्दैन । तर, आर्थिक उपार्जन नै हुने किसिमले काम गरेको भने हुनु हुँदैन । हामीले यस विषयमा अष्ट्रेलियामा रहेका नेपाली एजुकेशन माईग्रेसन एजेन्टहरुको संस्था एक्काका अध्यक्ष विवेक थापासँग जिज्ञासा राखेका थियौं । एमएनटीभीसँगको कुराकानीमा उहाँले भन्नुभयो, “यहाँ छोरा नातिलाई भेट्न आउने अभिभावकहरुको वर्क राईट हुँदैन । माग नै गरेपछि अति विशिष्ठ मुद्दामा मात्रै अष्ट्रेलियाले काम गर्ने अनुमति दिन्छ । यदि काम गरेको प्रमाण भेट्यो भने उसको भिसा तत्कालै खारेज हुन्छ । ”
यसै विषयमा हामीले एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्सालसँग कुराकानी गरेका थियौं । नेपाली टाईम्स अष्ट्रेलियाका प्रकाशक समेत रहनुभएका लम्सालले भन्नुभयो, “यस्तो कार्य गर्दा अष्ट्रेलियन सरकारले नै हामीप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुन सक्दछ । यसले समग्र नेपाली समूदायको विषयमा दाग लाग्छ । अष्ट्रेलिया सरकारले नेपाली अभिभावकहरुको सवालमा भिसा दिन निकै नै सजिलो बनाएको छ । तर, यसको दुरुपयोग हुनुहुँदैन । ”
बुबाआमा आउँदा आफ्नो परिवारका सदस्यहरुसँग रहने, बस्ने अनि छोराछोरीको सन्तानको स्याहार सुसार गर्ने कुरालाई कुनै रोक लाग्दैन । आफ्नो घरको काम गर्दा पनि कतै कानून लाग्छ कि भन्ने सोच्नुपर्ने होइन । तर, अन्यत्र पैसा लिएर आर्थिक उपार्जन हुने किसिमले भने काम गर्न मिल्दैन । भ्रमण भिसामा आएकाहरुको सवालमा पनि यही नै हो ।
अभिभावकहरु छोराछोरी या आफन्तलाई भेट्न आउने विषयमा रहेका प्रावधान र प्रवृत्तिको विषयमा हामीले एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष ध्रुव सुवेदीलाई पनि जिज्ञासा राखेका थियौं । उहाँले भन्नुभयो, “मेरो भनाईमा हेर्दा जोसुकै नेपाली एज स्टुडेन्ट अथवा प्यारेन्टस जेसुकै भएपनि अष्ट्रेलियामा टेकेपछि यहाँको नीति र नियमलाई मान्नै पर्छ । यो देशको नीति नियम विरुद्ध गरिने कामले पक्कै समस्या ल्याउँछ । केहीलाई त यस्तो विषय थाहा नहुन पनि सक्छ । मेरो २० वर्षको अष्ट्रेलिया बसाईको अनुभवमा अष्ट्रेलियाको सम्बन्धित निकायहरुले यो कुरा थाहा नपाउँदासम्म तपाईं सुरक्षित रहने हो तर यदि थाहा भयो भने व्यक्तिसँगै पूरै समूदाय पनि बदनाम हुन्छ । हामी नेपालीमा भैहाल्छ, चलिहाल्छ भन्ने र हल्का रुपमा लिने प्रवृत्ति छ । यो शायद प्रवृत्ति पनि होला । तर, मेरो विचारमा यो निकै गम्भीर कुरा हो । यहाँ भएका हामीले यस्ता व्यक्तिहरुलाई जानकारी गराइदिनुपर्छ । ”
भ्रमण भिसामा आउँदा अभिभावकहरुका लागि गरिने अन्य कार्यहरुको बारेमा विभिन्न परामर्शदाता कम्पनीहरुले निशुल्क जानकारी पनि दिइरहेका हुन्छन् । साथै, यस्तो भिसा अप्लाई गर्दा उनीहरुको सहयोग पनि लिन सकिन्छ । यदि आफैंले फर्म भरेको भएपनि गर्न हुने र नहुने कामहरु, सावधानीका उपायहरुबारे आधिकारिक परामर्शदातृ कम्पनीहरुसँग बुझ्न सकिन्छ । यस्तो विषयमा अभिभावकहरुलाई जानकारी गराउनु, यहाँ रहेका विद्यार्थीहरु अथवा यही स्थायी बसोबास गरिसक्नुभएका समाजका सदस्यहरुलाई अवगत गराएर समयमै यस्ता कमजोरी हुन नदिनु सबैको दायित्व हो । यस्तो जनचेतना फैलाएको खण्डमा हामीलाई आगामी दिनमा थप समस्याहरु पार्नबाट रोक्न सक्छ ।
::::::::::::::::::::::::::: भुल सुधार :::::::::::::::::::::::
एमएनटीभीको अनलाईन संस्करणमा वरिष्ठ हाँस्य कलाकार राजाराम पौडेलका विषयमा यसअघि प्रकाशित भ्रमण भिसामा आउँदाको अवस्थामा अष्ट्रेलियाको ईमिग्रेशन नियमका बारेमा सचेतना बढाउने उद्देश्यले प्रकाशित समाचारमा उल्लेखित तथ्यहरु सही भएपनि उदाहरणका रुपमा वरिष्ठ कलाकारको प्रसंग मुछिन गएकोमा त्यसलाई सच्याइएको छ । आगामी दिनमा पनि हाम्रो उद्देश्य नेपाली समूदायको बृहत्तर हित र एकतामा नै थप केन्द्रित हुने प्रतिबद्धता जनाउँदछौं । हाम्रो उद्देश्य समाजलाई सुसूचित गर्नु, नेपाली समूदायलाई एकताबद्ध बनाउँदै अन्य समूदायका माझमा हाम्रो प्रतिष्ठालाई ऊँचो बनाउने नै हो । सम्पादक ।