युरो कपअन्तर्गत इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा समर्थकहरुबीच हिंसात्मक झडप
फ्रान्समा जारी युरो कपअन्तर्गत शनिबार राति भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा हिंसात्मक झडप भएको छ ।
मार्से शहरमा भएको खेलका क्रममा रंगशालामै इङ्ुल्यान्ड र रुसका समर्थकबीच झडप भएको हो । झडपका क्रममा कम्तिमा ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुई देशबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि दुवै देशका समर्थकबीच झडप भएको हो । रुसी समर्थकले इङ्ल्यान्डका समर्थकमाथि आक्रमण गरेपछि झडप शुरु भएको थियो । आ–आफ्नो देशको खेल हेर्नका लागि मार्सेमा झन्डै ९० हजार दर्शक जम्मा भएका थिए ।
झडपमा दुवै देशका समर्थकले एक–अर्कामाथि कुर्सी तथा बोतलले प्रहार गरेका थिए । त्यसपछि दंगा नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेर झडप नियन्त्रणमा लिएको छ । प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले घटनाको निन्दा गरेको छ ।