भद्रगोल मच्चाउन हाँस्य कलाकारहरुको टोली पुग्यो ब्रिसबेन, भोलि कार्यक्रम
नेपाली टेलिभजिनमा पछिल्लो पटक चर्चित बनेको टेलिसिरियल भद्रगोलका कलाकारहरु यतिबेला मेलबर्नको कार्यक्रम सकाएर ब्रिसबेन पुगेका छन् । उनीहरु भोलि आइतबार आयोजना हुने च्यारिटी डिनरसहितको हाँस्य व्यंग्यात्मक भद्रगोलमा सहभागी हुन त्यहाँ पुगेका हुन् । शुक्रबार नै ब्रिसबेन पुगेका कलाकारहरुले प्रायोजक, विभिन्न संघ संस्थाका प्रतिनिधिका साथै नेपाली समूदायसँग भेट गरी कार्यक्रममा सहभागिताको लागि निम्तो गरेको थियो । यो शोलाई एनआरएन क्वीन्सल्याण्डको साथमा विराटनगरमा एनआरएनले निर्माण गर्न लागेको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको लागि आर्थिक संकलन गर्ने अवसरको रुपमा समेत संयोजन गरिएको छ । एनआरएन क्वीन्सल्याण्डका संयोजक तथा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष अभिमानसिंह बस्नेतका अनुसार च्यारिटी डिनरका साथ भद्रगोलका चारजना कलाकार र गायक प्रकाश पौडेलले आफ्नो प्रस्तुति दिनेछन् । क्वीन्सल्याण्ड रसियन कम्युनिटी सेन्टर ब्रिसबेनमा आयोजना गरिने कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ । यसमा टिकट दर सय डलर राखिएको छ भने विद्यार्थीहरुलाई ५० डलर तोकिएको छ । एमएनटीभीसँग कुरा गर्दै संयोजक बस्नेतले भन्नुभयो, “च्यारिटीसँगै मनोरञ्जन पनि दिउँ भनेर हामीले दुबै कार्यक्रमलाई एक ठाउँमा ल्याएका छौं । यसमा टिकटबाट पनि केही आर्थिक संकलन गर्ने प्रयास गरेका छौं भने डोनेसनका लागि फर्महरु पठाएर त्यसमार्फत पनि आर्थिक संकलन गर्ने हाम्रो प्रयास हुनेछ ।”
पाथीभरा श्रद्धाश्रम विराटनगर उपमहानगरपालिकासँगको सहकार्यमा एनआरएन अष्ट्रेलियाले सुरु गरेको परियोजना हो । यस परियोजना अन्तर्गत समाजमा अपहेलित भएका र सहयोगको आवश्यकता रहेका जेष्ठ नागरिकहरुलाई सुविधासम्पन्न श्रद्धाश्रममा आश्रय दिएर उनीहरुको जीवनको उत्तराद्र्धलाई सुखमय बनाउने उद्देश्य राखिएको छ । पछिल्लो समयमा भूकम्प र भारतीय नाकाबन्दीका कारण देखिएका समस्या र बजार अभावले केही रोकिएको यो परियोजनालाई सकेसम्म छिटो पूरा गर्ने प्रयास एनआरएन अष्ट्रेलियाले थालनी गरेको छ । यसै अन्तर्गत अष्ट्रेलियाका विभिन्न शहरमा च्यारिटी कार्यक्रमहरु आयोजना भइरहेका छन् ।