२०७४ सालभित्रै संक्रमणकालको अन्त्य हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालभित्रै सङ्कंक्रमणकालको अन्त्य हुने बताउनुभएको छ ।
पेशागत महासंघ नेपालको छैठौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०७४ सालभित्र संक्रमणकालको अन्त्य गरी मुलुकलाई विकास निर्माणतर्फ डो-याउने बताउनुभयो ।
उहाँले सङ्क्रमणकालीन व्यवस्थापनमा समय दिनुपर्दा सरकारले देशको विकास निर्माणमा पूरै ध्यान दिन नसकेको बताउनुभयो ।
संविधान जारी भएपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने सरकारको सोच हुँदाहँुदै पनि भूकम्पपछिको पुनःनिर्माण अभियान र विभिन्न कानुनको निर्माणमा लाग्नु परेकाले त्यसो गर्न नसकिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उहाँले भन्नुभयो – ‘२०७५ देखि सरकार पूरै विकास निर्माणमा लाग्नेछ ।’
एक अर्को प्रसङ्गमा उहाँले अर्थशास्त्रीले समेत बजेटलाई बुझ्न नसकेको गुनासो गर्नुभयो । “गाउँका जनताले बजेटबारे बुझे तर, अर्थशास्त्रीहरुले बुझेनन्,” उहाँले भन्नुभयो – “बजेट ठूलो देखेका छन्, कार्यान्वयन गर्दै जाँदा सानो भएको महसुस हुनेछ ।”
प्रधानमन्त्री ओलीले वर्तमान सरकारको विचार, बाटो र गन्तव्य स्पष्ट भएको दाबी गर्नुभयो ।
“यो सरकार १०४ वर्षे राणा शासन होइन, २४० वर्षे वंश परम्परामा आधारित राजतन्त्र जस्तो पनि होइन,” उहाँले भन्नुभयो – “वर्तमान सरकार संसद्बाट बनेको हो । मन नपरे त्यहीँबाट फेरिन्छ ।”
उहाँले विभिन्न पेसमा लागेका बुद्धिजीवीले अधिकार मात्र खोज्ने होइन कर्तव्यतर्फ समेत ध्यान दिनुपर्छ भन्नुभयो ।
उद्घाटन समारोहमा १६ देशका प्रतिनिधिको सहभागिता देखिएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । रासस