इराकको फलुजा शहर सेनाको नियन्त्रणमा
इराकी प्रधानमन्त्री हैदर अल अबादीले इराकी सेनाले फलूजा शहर नियन्त्रणमा लिएको बताउनुभएको छ ।
प्रधानमन्त्री अबादीले फलूजाका केही स्थानमा इस्लामिक स्टेटका लडाकु रहे पनि केही घण्टाभित्रै उनीहरुलाई समेत हटाएर पूर्णरुपमा नियन्त्रणमा लिने बताउनुभयो । सरकारी टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै उहाँले आइएसले कब्जामा लिएको शहरलाई सेनाले पुनः नियन्त्रणमा लिएको बताउनुभएको हो । उहाँले सेनाको लक्ष्य अब इराकका उत्तरी शहर मोसुललाई नियन्त्रणमा लिने भएको बताउनुभयो । मोसुललाई आइएसको गढ मानिँदै आएको छ ।
यसअघि इराकी सेनाले पनि फलुजा शहरलाई आइएसको नियन्त्रणबाट मुक्त गराएको जानकारी दिएको थियो । यो शहरलाई आइएसले सन् २०१४ को जनवरीमा कब्जामा लिएको थियो । औद्योगिक क्षेत्र रहेको उक्त शहर आइएसको कब्जामा गएपछि केही उद्योग महिनौंदेखि बन्द रहँदा इराक सरकारलाई करौडौंका घाटा भएको थियो ।