स्पेन र इटाली युरो कप फुटबलको अर्को चरणमा प्रवेश


Spainस्पेन र इटली युरोकप फुटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको खेलमा लगातार दुई जित दर्ता गर्दै स्पेन र इटली समूह चरणको एक खेल अघि नै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

डिफेन्डिङ च्याम्पियन स्पेनले फ्रान्सको नाइसमा भएको खेलमा टर्कीलाई ३–० ले हरायो । स्पेनको जितमा अलभारो मोराटाले दुई तथा नोलिटोले एक गोल गरे । स्पेन जारी युरोकपमा दुई भन्दा धेरै गोल गर्दे पहिलो टिम बनेको छ । ३४ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । नोलिटोले ३७ औं मिनेटमा गोल गरेपछि स्पेन पहिलो हाफमा २–० को अग्रता लियो । दोस्रो हाफको तेस्रो मिनेटमा नै मोराटाले स्पेनको अग्रता ३–० मा पु-याए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन र स्पेन ३–० ले विजयी भयो । समूह डीमा रहेका स्पेनले आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई १–० ले हराएको थियो । टर्कीको भने यो दोस्रो हार हो । पहिलो खेलमा टर्की क्रोएसियासँग १–० ले पराजित भएको थियो ।

यसैगरी स्वीडेनलाई १–० ले हराउँदै इटली पनि अर्को चरणमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको ८८ औं मिनेटमा इडरले गोल गर्दै इटालीलाई जिताएका हुन् । यो जितसँगै इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेले अपराजित यात्रालाई १२ खेलसम्म पु¥याएका छन् । समूह ई को खेलमा पहिलो चरणमा इटालीले बेल्जियमलाई २–० ले हराएको थियो । इटालीसँग पराजित भए पनि पहिलो खेलमा आयरल्याण्डसंग १–१ को बराबरीमा चित्त बुझाएको स्वीडेनले अर्को चरण प्रवेशको सम्भावना भने कायमै राखेको छ । यो समूहमा अंकविहीन बेल्जियम पुछारमा छ ।

त्यसैगरी गएराति नै भएको चेक रिपब्लिक र क्रोएसियाबीचको खेल २–२ गोलको बराबरीमा टुंगिएको छ । ७५ औं मिनेटसम्म २–० को अग्रता लिएर पनि क्रोएसिया बराबरीमा रोकिन बाध्य भयो । ३७ औं मिनेटमा इभान पेरिसिकले गोल गरेपछि पहिलो हाफमा क्रोएसियाले १–० को अग्रता लियो । ५९ औं मिनेटमा इभान रेकिटिकले क्रोएसियाको अग्रता दोब्बर पारे । चेक रिपब्लिकलाई दबाबमा राखे पनि क्रोसिएसनले अग्रता जोगाउन सकेन । ७५ औं मिनेटमा मिलान स्कोडा तथा ८९ औं मिनेटमा टोमस नेसिडले पेनाल्टीमार्फत् गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो र क्रोएसिया चेक रिपब्लिकसँग अंक बाँड्न बाध्य भयो । समूह डी मा रहेको क्रोएसियाको चार तथा चेक रिपब्लिकको एक अंक भएको छ । पहिलो खेलमा क्रोएसियाले टर्कीलाई १–० ले हराएको थियो । चेक रिपब्लिक भने स्पेनसँग १–० ले पराजित भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?