३२ वटा हत्या र बलात्कारका घटनामा संलग्न मानबहादुर पक्राउ
३२ वटा बलात्कार र हत्याका घटनामा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले भारतमा पक्राउ गरेको छ । नेपालका विभिन्न स्थानमा हत्या र बलात्कार गरी फरार हुँदै आएका मानबहादुर बुढाथोकीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल सुपुर्दगी गरेको हो । दिल्ली प्रहरीले पक्राउ गरेका बुढाथोकीलाई वनबासा, महेन्द्रनगरमा केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गरिएको हो ।
पक्राउ बुढाथोकीलाई भारतीय सुरक्षाकर्मीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीलाई हस्तान्तरण गरेका हुन् । हत्या र बलात्कारका ३२ घटनामा संलग्न देखिएका बुढाथोकी सिआइबीको हिरासतमा रहेको सिआइबी प्रमुख डिआईजी नवराज सिलवालले बताए ।
बाराको डुमरुवाना घर भएका उनले पछिल्लो पटक महोत्तरीमा अपराध गरेको प्रहरी रेकर्ड छ ।
२०५३ सालमा महोत्तरीमा भएको एक हत्या घटनामा उनको संलग्नता खुलेपछि ब्युरोको प्रहरी भारतको दिल्ली पुगेर उनलाई पक्राउ गरी सोमबार नेपाल ल्याएको थियो । यसबीचमा उनले एक घटना मात्रै स्विकार गरेनन् प्रहरीले चाल नै नपाएको अन्य ३१ वटा घटनामा समेत आफू संलग्न रहेको दाबी गरे ।
ब्युरोका एसपी दिवस लोहनीका अनुसार उनले दाबी गरेका हत्या घटनामध्ये प्रहरीले ६ वटाको रेकर्ड फेला पारिसकेको छ । अन्य २६ वटा घटनाका पीडितको हुन प्रहरीलाई समेत पत्तो छैन । उनले दाबी गरेका घटनाबार प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
ब्युरोले सार्वजनिक गरेको बुढाथोकीले स्विकार गरेको हत्या घटनाको प्रकृति एकै छ । धनुषा र महोत्तरीका विभिन्न स्थानमा २०५२ र २०५३ का विचमा भएका घटना अधिकांश सुनसान स्थानमा भएका छन् । यी सबै घटनामा मारिएकाको घांटी थिचिएको छ भने अधिकांशको बलात्कार समेत भएको छ ।