मेलबर्नमा बिहीबार यसरी गरिँदैछ पूर्वप्रधानमन्त्री दाहालको स्वागत
करिब एक साता लामो अष्ट्रेलिया भ्रमणका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार विहान ९ः२० बजे मेलबर्न आइपुग्दैछन् । सिंगापुर हुँदै मेलबर्नमा उत्रने दाहाललाई विमानस्थलमा भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन र नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाका संयोजक माण्डवराज कार्कीले स्वागत गर्ने तय भएको छ । यसैगरी पूर्वप्रधानमन्त्री प्रचण्डको स्वागतका लागि मेलबर्नमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिका साथै जनप्रगतिशील मञ्चका पदाधिकारी पनि पुग्ने छन् । यसका लागि सिड्नीबाट एक टोली आज मेलबर्न आइपुग्दैछ ।
विमानस्थलमा हुने स्वागत पश्चात दिउँसो भिक्टोरियन संसदमा भ्रमण गर्ने कार्यक्रम तय गरिएको महावाणिज्यदूतको कार्यालयकी पब्लिक रिलेशन अफिसर निरु त्रिपाठीले एमएनटीभीलाई बताइन् । उनका अनुसार संसदको बैठक चलिरहेको कारण त्यहाँ पूर्वप्रधानमन्त्री दाहालले संसद बैठकको अवलोकन गर्नुहुनेछ भने टोलीको स्वागत सभामुखले गर्नुहुनेछ । यसैबीच, भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले पूर्वप्रधानमन्त्री दाहालको सम्मानमा प्रेस्टन बेलसिटीस्थित मन्त्रा होटलमा रात्रिभोजको आयोजना समेत गरेको छ । भ्रमणको दोश्रो दिन दाहालको भ्रमण टोलीले शुक्रबार मुख्यतः अष्ट्रेलियाले विज्ञान र अनुसन्धानका क्षेत्रमा हासिल गरेको प्रगतिको अवलोकन गर्ने कार्यक्रम छ । शुक्रबार एक अनुसन्धान केन्द्रमा पुगेर दाहालले जानकारी लिने तय भएको संयोजक माण्डवराज कार्कीले एमएनटीभीलाई जानकारी दिए ।
यस्तै शुक्रबार नै दिनको १ः३० बजेदेखि नेपाली जनप्रगतिशील मञ्च भिक्टोरियाको आयोजनामा आधुनिक नेपाल निर्माणका लागि सम्पूर्ण प्रवासी नेपालीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम हुनेछ । जहाँ अष्ट्रेलियाको भूमिमा रहेर विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तित्वहरुले आफ्नो प्रस्तुति दिनुहुनेछ । संयोजक कार्की भन्छन्, “हाम्रो पार्टीको कामका सिलसलामा अध्यक्षले अष्ट्रेलियाको भ्रमण गर्नुभएको भएपनि यहाँको विकास, निर्माण र प्रगतिको समेत अवलोकन गर्ने र नेपाली समूदायले हासिल गरेको उपलब्धीलाई कसरी आधुनिक नेपालको हितमा उपयोग गर्न सकिन्छ भन्ने विषयमा विचार मन्थन गर्ने हाम्रो प्रयास हो ।” ब्रन्सविकमा रहेको ईस्टोनिया हाउसमा आयोजना गरिने अन्तरक्रियाको तयारी पूरा भएको जानकारी पनि कार्कीले दिनुभयो । शुक्रबार नै प्रचण्डसहितको भ्रमण टोली शनिबार हुने मञ्चको औपचारिक कार्यक्रमका लागि सिड्नीतर्फ प्रस्थान गर्नेछ । यसअघि भ्रमणकै विषयलाई लिएर सोमबार माओवादी केन्द्रको प्रवासी संगठन जनप्रगतिशील मञ्च अष्ट्रेलियाले छलफल समेत गरेको थियो ।