आयोजक अमेरिकालाई ४–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा
आयोजक अमेरिकालाई ४–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकामा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना ४–० ले विजयी भयो ।
खेलको मध्यान्तरसम्म २–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।
अर्जेन्टिनाका लागि एजिक्वेल लाभेज्जी र लियोनल मेसीले पहिलो हाफमा एक–एक गोल गरेका थिए भने दोस्रो हाफमा गोन्जालो हिगुवानले दुई गोल गरेपछि अर्जेन्टिनाले ४–० को शानदार जित दर्ता गरेको हो ।
खेलमा गोल गरेसँगै लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
मेसीले ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् भने यसअघिका कीर्तिमानी खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा ५४ गोलको कीर्तिमान थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा विहीबार बिहान चिली र कोलम्बिया भिड्नेछन् ।