काठमाडौंमा दिनदहाडै प्रहरीले गोली चलायो, एक जना घाइते
एक जना अभियुक्तलाई पक्राउ गर्न प्रहरीले काठमाडौंमा दिनदहाडै गोली चलाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बबरमहलमा दिउँसो दुई राउन्ड गोली प्रहार गरेको छ । कलंकी क्षेत्रमा अवैध असुली, डकैती र धाकधम्की दिएर रकम असुली गर्ने २६ वर्षीय जसवन्त राईलाई नियन्त्रणमा लिने प्रहरीले गोली चलाएको हो । प्रहरीले प्रहार गरेको गोली लागेर राई घाइते भएका छन् । प्रहरीको खोजीको सूचीमा रहेका राई प्रहरीलाई देख्नेवितिक्कै भागेका थिए । उनी ज्यान मार्ने उद्योगमा फरार थिए ।
प्रहरीको आँखा छल्दै भाग्दै गरेका उनलाई पछ्याउँदै प्रहरीको टोलीले आत्मसमर्पण गर्न चेतावनी दिएको थियो । भाग्दै गरेका राईले बिजुली बजार नजिकै उल्टो प्रहरीलाई फलामको रडले हानेपछि प्रहरीले गोली चलाएको एसएसपी सर्वेन्द्रनाथ खनालले बताए ।
प्रहरीले चलाएको गोली राईको घुँडा र तिघ्रामा लागेको छ । गोली लागेर घाइते भएका राईलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि वीर अस्पताल भर्ना गरेको छ ।
राई काठमाडौंमा कहलिएका गुण्डा नाइके समीरमान सिंह बस्नेत नजिक रहेर असुलीमा सक्रिय थिए । उनी विरूद्ध केही दिनअघि कलंकीका व्यापारीलाई मरणाशन्न हुनेगरी कुटपिट गरेको आरोपमा प्रहरीले खोज्दै आएको थियो ।