मेलबर्नमा नेपाली सामूदायिक केन्द्र बनाउन महावाणिज्यदूत चन्द्र योन्जनबाट ५० हजार डलर सहयोग, एकैदिन १ लाखभन्दा बढी संकलन
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामूदायिक केन्द्र निर्माण गर्ने उद्देश्यले गरिएको फन्डरेजिङबाट १ लाख डलरभन्दा बढी संकलन भएको छ । शुक्रबार साँझ मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजना गरिएको कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूतचन्द्र योन्जन एक्लैले ५० हजार डलर सहयोग गर्ने घोषणा गर्नुभयो । नेपाली समूदायको पहिचान स्थापित गर्ने उद्देश्यका साथ सामूदायिक केन्द्र बनाउनका लागि गरिएको यो नै सबैभन्दा ठूलो व्यक्तिगत योगदान हो । यससँगै सामूदायिक केन्द्रको सदस्यताका साथै विभिन्न सामग्रीहरुको लिलामीबाट पनि रकम संकलन गरिएको थियो । जसबाट एकैदिनमा १ लाख डलरभन्दा बढी संकलन भएको छ । एमएनटीभीसँग कुरा गर्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले भन्नुभयो, “यो सहयोग हाम्रो आउने दोश्रो पुस्ताको लागि हो । नेपाली सामूदायिक केन्द्र निर्माणको यो योजनालाई सफल बनाउनुपर्छ भन्ने मेरो अपेक्षा हो र अष्ट्रेलियाभरि बस्ने नेपालीहरुलाई योगदान दिन म आग्रह गर्दछु । हरेक कुरा आँट हो, पहिलो आँट गरेपछि त्यो सफल हुन्छ भन्ने मलाई लाग्छ । नेपाली सामूदायिक केन्द्र बनाउने योजना हुन नसक्ने योजना होइन, यसमा हामीले एक एक ईंटा थप्दै गयौं, सबै सहभागी भयौं भने छिटोभन्दा छिटो आफ्नै साझा घर निर्माण गर्ने योजनाले मूर्तरुप पाउनेछ ।”
उहाँले धेरै अघिदेखि सोचिएको नेपालीको आफ्नै सामूदायिक केन्द्र बनाउने योजना अघि बढ्दा खुशी लागेको बताउनुभयो । योञ्जनले भन्नुभयो, “अष्ट्रेलियाका सबै स्टेटमा हामीले यस्तो खालको सामूदायिक भवन बनाउनु पर्दछ भन्ने मेरो धारणा छ । तर, भिक्टोरियालाई हामी उदाहरण बनाउन चाहन्छौं । यसमा अहोरात्र खट्ने सबै साथीभाईहरुलाई म धन्यवाद दिन चाहन्छु ।”
कार्यक्रम चलिरहँदा एमएनटीभीसँग कुरा गर्दै नेपाली सामूदायिक केन्द्र निर्माण समितिका अध्यक्ष रञ्जन वैद्यले उत्साहपूर्ण सहभागिताबाट आफुहरुलाई थप ऊर्जा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “अष्ट्रेलियामा हामी जब आयौं, त्यतिबेला आफ्नै एउटा घर किनौं भन्ने चाहना थियो । तर, अब सबै नेपालीले आफ्नो भन्न मिल्ने साझा घर बनाउँ भन्ने हाम्रो चाहना छ ।” कहिलेसम्म बन्छ त सामूदायिक केन्द्र ? वैद्यको भनाई छ, “एक वर्षभित्र या त जग्गा लिने या कुनै ठाउँ भाडामा लिएर भएपनि सामूदायिक केन्द्रको पहिलो चरणको काम अघि बढाउनेछौं । यसपछि दीर्घकालीन रुपमा ठूलो ठाउँ लिएर नेपाली सामूदायिक केन्द्रलाई सम्पूर्ण नेपालीको बृहद साझा थलोको रुपमा विकसित गरिनेछ ।” अष्ट्रेलियामा बस्ने सबै नेपालीहरुलाई पहिलो सामूदायिक केन्द्र बनाउने यो अभियानमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । “सिड्नीमा बस्ने, ब्रिसबेनमा बस्ने हुन् या पर्थ अथवा डार्विन नै किन नहोस् सबैले एकजुट भएर सहयोग गर्ने हो भने छिटो यो परियोजना पूरा हुने मात्र होइन, आगामी दिनमा अर्को राज्यमा पनि यस्तै सामूदायिक भवन बनाउँदा अष्ट्रेलियाभरिबाट नै सहयोग जुट्ने नयाँ संस्कार पनि बस्ने उहाँको भनाई छ ।
यसैबीच, नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभका अध्यक्ष डा. अनुपम पोखरेलले सामूदायिक केन्द्र बनाउने वर्षौंको सपना साकार हुने चरणमा पुगेको बताउनुभएको छ । उहाँले यस कार्यमा समूदायसँग न्याभ हातेमालो गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो । यस्तै एनआरएन अष्ट्रेलियाका महासचिव तोनु घोतानेले नेपालीको गौरव सामूदायिक केन्द्र निर्माणका लागि एकताबद्ध हुन सबै भिक्टोरियावासीलाई आह्वान गर्नुभएको छ । अर्कोतर्फ, एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले भने, “अर्कोवर्ष म अष्ट्रेलिया आएको १८ वर्ष पूरा हुन्छ । हामी जहिल्यै पनि अरु कम्युनिटीले बनाएका मन्दिरहरुमा जान्छौं पूजा गर्दछौं । म पनि यस्तोमा जाँदा सोच्ने गर्थे हाम्रो आफ्नै सामूदायिक केन्द्र, मन्दिर भएको भए । हो, अब यो सपना साकार हुनेछ । यसमा सम्पूर्ण रुपले लाग्ने मेरो प्रतिबद्धता छ ।”
नेपाली सामूदायिक केन्द्र निर्माण समितिका सल्लाहकार जोग लिम्बुले पहिलो पटक यस्तो फन्डरेजिङ आयोजना गरिएको भन्दै यसमा देखिएको उत्साहलाई कायम राख्नुपर्ने बताउनुभयो । उहाँले यही उत्साह रहे भिक्टोरियामा नेपालीको साझा सामूदायिक केन्द्र बन्न समय नलाग्ने धारणा राख्नुभयो । व्यवसायी एवं बाटो मुनीको फुल २ चलचित्रका निर्माता भीम न्यौपानेले सामूदायिक केन्द्र निर्माणका लागि अब गरिने प्रदर्शनबाट उठ्ने सबै रकम सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
शुक्रबार आयोजित फन्डरेजिङ डिनरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । भिक्टोरियास्थित महावाणिज्यदूतको कार्यालय, नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभ, गैरआवासीय नेपाली संघ र अष्ट्रेलियन नेप्लीज मेडिकल डेन्टल एशोसिएसनले सहकार्य गरेका थिएभने भिक्टोरियामा रहेका अन्य संघसंस्थाले सहयोग गरेका थिए ।