व्यवसायी एवं कवि चौधरीको काव्ययात्रा सिड्नीमा सकियो, आज मेलबर्नको डबलीमा
नेपालको चर्चित व्यापारिक घराना चौधरी ग्रुपका बसन्त चौधरी कवि पनि हुन् । उनका कैयौं कविता र गीत प्रकाशित छन् । उनले केही समय अघिदेखि थालेको विश्व काव्य यात्राको सिड्नी संस्करण शनिबार सम्पन्न भएको छ । स्थानीय कोग्रा स्कुल अफ आर्टसमा भएको कार्यक्रममा करिब एक घण्टा उनले आफ्ना कविताहरु वाचन गरेका थिए । साताको साहित्यले आयोजना गरेको उक्त कार्यक्रममा चौधरीका गीतमा सुजाता उपाध्याय, समिर आचार्य र सञ्जीव पराजुलीले गीत आएका थिए । कार्यक्रमका सहभागीहरुलाई आयोजकको तर्फबाट साहित्यकार निस्प्रभ सजीले धन्यवाद ज्ञापन गरेका थिए । कवि चौधरीको अर्को कार्यक्रम आज मेलबर्नमा रहेको छ । मेलबर्नमा हरेक महिना आयोजना हुने मेलबर्न डबलीको मञ्चमा उनले आफ्ना कविता प्रस्तुत गर्न लागेका हुन् । सोलांगचरका राजु शाक्यले दिएको जानकारी अनुसार मेलबर्न डबलीको प्रथम प्रहरमा चौधरीको प्रस्तुति रहनेछ भने दोश्रो प्रहरमा मेलबर्नमा रहेका अन्य प्रतिभाहरुको आकर्षक प्रस्तुत हुनेछ । जसमा गीत, कविता, ट्यालेन्ट शो, कमेडी लगायत समावेश छ । मेलबर्न डबलीको तेश्रो श्रृंखलासम्म आइपुग्दा यसमा सहभागिताका लागि पनि व्यवस्थित प्रयास गरिएको छ । सहभागी हुन चाहनेहरुले आफ्नो नाम, ठेगाना र देखाउन चाहेको प्रतिभाउल्लेखित फर्म भर्नुपर्ने प्रावधान छ ।