कोपा अमेरिका फुटबलको उपाधि चिलीलाई, अर्जेन्टिनी कप्तान मेसीबाट संन्यास घोषणा
चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अमेरिकामा सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा अर्जेन्टिनालाई टाई ब्रेकरमा ४/२ ले हराउँदै चिलीले उपाधि जितेको हो ।
प्रतियोगिताको अघिल्लो संस्करणको फाइनलमा पनि अर्जेन्टिनालाई टाई ब्रेकरमा पराजित गर्दै चिलीले उपाधि जितेको थियो । सोमबारको खेलमा अर्जेन्टिनाका लागि सर्वाधिक आशा गरिएका खेलाडी लियोनल मेस्सी र लुकास बिग्लीयाले पेनाल्टीमार्फत गोल गर्न सकेनन् ।
यसअघि खेलको पहिलो हाफमै अर्जेन्टिनाका मार्कस रोहो र चिलीका मार्सेलो डियाजले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए । जीतसँगै चिलीले ईतिहासमा दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ । यो जीतसँगै चिलीले अर्को वर्ष रुसमा हुने कन्फेडेरेसन कपमा दक्षिण अमेरिकी महादेशको तर्फबाट सहभागिता जनाउन पाउने भएको छ ।
यसैबीच लगातार तीन ठूला प्रतियोगिताको फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएका छन् । कोपा अमेरिका फुटबलको फाइनलमा चिली बिरुद्ध टाइ ब्रेकरमा मेसी र बिग्लीयाले पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना पराजित भएपछि मेसीले संन्यासको घोषण गरेका हुन् ।
बार्सिलोनाका २९ बर्षिय फरवार्ड मेसीको नेतृत्वमा अर्जेन्टिना दुई वर्षअघि ब्राजिलमा सम्पन्न बिश्वकपको फाइनलमा जर्मनीसँग र १ वर्ष अघी चिलीमा सम्पन्न कोपा अमेरिकाको फाइनलमा आयोजक चिलीसँगै पराजित भएको थियो । पाँच पटक विश्वको सर्बोत्कृष्ट खेलाडी हुँदै फिफा बलोन डेअर अवार्ड जितेका मेसीले क्लब फुटबलमा बार्सिलोनाबाट सबै किसिमका उपलब्धी हात पारि सके पनि राष्ट्रिय टोलीका लागी भने त्यस्तै नतिजा ल्याउन चुकेका हुन् ।