दावेदार स्पेन र इङ्ल्यान्ड युरो कपको क्वार्टरफाइनलबाटै बाहिरिए
स्पेन र इङ्ल्यान्डलाई पाखा लगाउँदै ईटाली र आईसल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत सोमबार राति भएको खेलमा ईटालीले स्पेनलाई २–० ले हरायो । खेलमा ईटालीलाई विजयी गराउन जर्जियो केलिनी र ग्रेजियानो पेलाले एक–एक गोल गरे । यो जितसँगै ईटालीले चार वर्षअघि युरोकपको फाईनलमा स्पेनसँग भोगेको नमीठो हारको बदला लिएको छ ।
सोमबार राति नै भएको अर्को खेलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै आईसल्याण्ड पनि क्वाटरफाईनलमा प्रवेश गरेको छ । खेलको चौथो मिनेटमै पाएको पेनाल्टीलाई गोलमा बदल्दै वायन रुनीले इङ्ल्यान्डलाई अग्रता दिए । तर, यसको लगत्तै आईसल्याण्डका रग्नार सिगुर्डसन र कोल्बिन सिग्थोर्सनले एक–एक गोल गर्दै आईसल्याण्डलाई खेलमा फर्काए । यो जितसँगै पहिलो पटक युरोकप फुटबल खेलिरहेको आईसल्याण्ड प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । उता पराजित टोली इङ्ल्यान्डका प्रशिक्षक रोय हज्सनले भने पदबाट राजीनामा दिएका छन् । यसअघि ईटालियन प्रशिक्षक फाबियो क्यापेलोको अवधि सकिएपछि इङ्लिश टोलीको नेतृत्व समालेका हज्सनले इङ्ल्यान्डलाई तीनवटा मुख्य प्रतियोगिता खेलाउँदा ११ खेलमध्ये तीनवटामा मात्रै विजयी गराएका छन् ।
सोमबार रातिका खेलसँगै युरोकप फुटबलको क्वाटरफाईनल समीकरण पुरा भएको छ । बिहीबार राती सुरु हुने क्वाटरफाईनलको पहिलो खेलमा पोर्चुगल र पोल्याण्ड भिड्नेछन् । यसैगरी शुक्रबार राती वेल्सले बेल्जियमसँग खेल्दा शनिबार जर्मनी र ईटाली तथा आइतबार आयोजक फ्रान्स र आईसल्याण्डबीच खेल हुनेछ ।