बेलायत अलग्गिने विषयमा युरोपेली संसदमा चर्को बहस
युरोपेली आयोगका अध्यक्ष जीन क्याउड जंकरले आपत्कालीनसत्रपछि अनिश्चितता अन्त्यका लागि इयुबाट बेलायत अलग हुने प्रक्रिया कहिले सुरु गर्छ भन्ने बताउनुपर्नेमा जोड दिए ।
बेलायत यस विषयमा स्पस्ट हुनुपर्ने उनको भनाइ थियो ।
जंकरले बेलायतका जनताको चाहनाको सम्मान गर्नुपर्ने पनि बताए । यस विषयमा युरोपेली संसदमा व्यापक बहस भएको छ ।
बहसकाक्रममा इयुबाट बेलायत अलग हुनुपर्ने पक्षको वकालत गर्ने बेलायती नेता निजेल फराजले बोल्न सुरु गर्दा सांसदहरुले हो–हल्ला गरेका थिए ।
फराजले युरोपेली युनियनको राजनीतिक योजना फेल भएको भन्दै ईयूका नेताहरुमाथि आरोप लगाए । उनले बेलायत र इयुबीच सम्बन्ध कायमै रहने बताए ।
गत हप्तामात्र बेलायत इयुबाट अलग हुने पक्षमा जनमतसंग्रहको नतिजा आएको थियो । यस नतिजाले युरोपेली संसदसमेत विभाजित भएको छ ।
जनमतसंग्रहपछि बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले आगामी अक्टोबरमा राजीनामा दिने घोषण गरिसकेका छन् ।