टर्कीको अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा बम आक्रमण र गोली प्रहारबाट ४२ जनाको मृत्यु
टर्कीको राजधानी इस्तानबुलस्थित मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट ४२ जनाको ज्यान गएको छ । युरोपको सबैभन्दा व्यस्त मध्ये एक इस्तानबुलको विमानस्थलमा तीन जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तथा बम विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको हो । घटनामा २ सय ३९ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुमध्ये ४१ जनाको अवस्था चिन्ताजनक छ । आक्रमणकारीले अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको मुख्य प्रवेशद्वारमा आक्रमण गरेका हुन् । प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैंलाई विस्फोट गराएका थिए । आक्रमण योजनाबद्ध रुपमा भएको अधिकारीहरुले दाबी गरेका छन् । आक्रमणपछि अटाटुर्क विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको छ । सरकारी अधिकारीहरुले विमानस्थल वरपर नजान सर्वसाधारणलाई अपील गरेका छन् ।
गत वर्ष सरकार र कुर्द चरमपन्थीबीचको युद्धविराम भंग भएपछि टर्कीमा यस्ता आक्रमण हुँदै आएका छन् । विमानस्थलमा भएको आक्रमणमा कुर्द चरमपन्थी वा इस्लामिक स्टेट आइएसको संलग्नता हुनसक्ने बताइएको छ ।
यसैबीच टर्कीका राष्ट्रपति रिसेप टइप एर्डोगानले आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले आतंकवादविरुद्ध संयुक्त अभियानका लागि आह्वान गर्नुभएको छ ।
यस्तै अमेरिकाले आक्रमणलाई जघन्य अपराध भन्दै टर्कीलाई सहयोग गर्न तयार रहेको बताएको छ भने जर्मनीले पनि आक्रमणको निन्दा गरेको छ ।