बंगलादेशमा आईएसबाट २० जनाको हत्या


Bangladesh

अतिवादी संगठन आइएसले बंगलादेशको ढाकास्थित एक रेष्टुरेन्टमा बन्धक बनाइएका २० जनाको हत्या गरेको छ । शुक्रबार बन्धुकधारीको समूहले रेष्टुरेन्ट छिरेर ग्राहकहरुलाई बन्धक बनाएका थिए ।

इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ । ढाकास्थित होले आर्टिसन बेकरी क्याफेमा बन्दुकधारी छिरेर नियन्त्रणमा लिएको १२ घण्टापछि ढाका प्रहरीले कारबाही थालेको थियो ।

बन्धक बनाउनेमध्ये ६ जनाको मृत्यु भएको र एक जनालाई नियन्त्रणमा लिइएको सरकार प्रवक्ताले जनाएका छन् । बन्धक बनाइएकामध्ये केही जापानी र श्रीलंकाली नागरिक थिए ।

बन्धकमा पर्नेहरुमध्ये अधिकांश मुस्लिम हुन् र उनीहरु रमजान ब्रत तोड्न रेष्टुरेन्टमा भेला भएका थिए ।

आइएसले बन्धक बनाइएका अन्य १३ जनालाई भने सुरक्षाकर्मीले सकुशल उद्दार गरेका छन् । ती मध्ये एक जापानी र दुई श्रीलंकाली नागरिक छन् । बन्धन बनाइएका अधिकांशलाई आइएसका कार्यकर्ताले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

बन्धुकधारीहरुले बन्धक बनाइएकाहरुलाई कुरान श्लोक भन्न लगाएका थिए । श्लोक भन्न नसक्नेहरुलाई उनीहरुले यातना दिएको बताइएको छ ।

यसैबीच बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदले घटनालाई घृणित भनी टिप्पणी गर्नुभएको छ । उहाँले बंगलादेशबाट आतंकवादलाई सिध्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?