इटालीलाई पराजित गर्दै जर्मनी युरोकपको सेमिफाइनलमा प्रवेश, फ्रान्स र आइसल्यान्ड राति भिड्दै
विश्व विजेता जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान सकिएको खेलमा जर्मनीले इटालीलाई टाइब्रेकरमा ६–५ ले हराएर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित र थप गरिएको समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । बोर्डोमा भएको खेलमा १८ वटा पेनाल्टी प्रहार भएकोमा दुवै तर्फबाट गरी सातवटा पेनाल्टीमा गोल हुन सकेन । इटालीका माटेओ डार्मिएनले पेनाल्टीमा गोल गर्न सकेनन् भने जर्मनीका योनास हेक्टरले विजयी पेनाल्टी गोल गरे ।
त्यसअघि इटालीका सिमोन जाजा, ग्रान्जिएनो पेले र लियोनार्डो बोनुकीले पेनाल्टीमा गोल गर्न सकेनन् । यस्तै जर्मनीका थोमस मुलर, मेसुट ओजिल र बास्टिएन स्वान्सटाइगरले पनि पेनाल्टीमा गोल गर्न सकेनन् । दुवै तर्फबाट पाँच÷पाँच गोल भएको अवस्थामा एक एक पेनाल्टी प्रहार गर्न बाँकी थियो । टाइब्रेकरको १७ औं पेनाल्टी प्रहार गर्न आएका जर्मनीका हेक्टरले गोल गरे । त्यसपछि १८ औं पेनाल्टीका लागि आएका इटालिका डार्मिएन गोल गर्नबाट चुकेपछि नतिजा जर्मनीको पक्षमा गयो ।
त्यसअघि पहिलो हाफमा गोलरहित बराबरी भएकोमा ६५ औं मिनेटमा ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । तर जर्मनीका डिफेन्डर जरोमी बोएटेङगबो ह्याण्डबलका कारण इटालीले पेनाल्टीको अवसर पायो । ७८ औं मिनेटमा पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै इटालीका लियोनार्डो बोनुकीले बराबरी गोल गरे । बोनुकीको यो करिअरकै पहिलो पेनाल्टी गोल हो । खेल अवधिभर जर्मनीले बलमा बढी नियन्त्रण कायम गरे पनि इटालीले उसमाथि दबाब कामय गर्न सक्यो । थप गरिएको समयमा पनि दुवै तर्फबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा थकेलियो ।
जर्मनीले कुनै पनि मुख्य प्रतिस्पर्धामा इटालीलाई हराएको यो पहिलो पटक हो । यसअघि भएका ८ खेलमा जर्मनीले इटालीलाई हराउन सकेको थिएन । जर्मनी युरोकपमा सन् १९७६ पछि अहिलेसम्म पेनाल्टीमा पराजित भएको छैन । ४० वर्षअघि जर्मनी चेकोस्लोभाकियासँग पेनाल्टीमा पराजित भएको थियो । जर्मनीले अब सेमिफाइनलमा फ्रान्स वा आइसल्याण्डसँग खेल्नेछ । फ्रान्स र आइसल्यान्डबीचको खेल आइतबार राति हुने छ ।