इराकको बग्दादमा भएका छुट्टाछुट्टै आत्मघाती विस्फोटमा ८३ जनाको मृत्यु
इराकको राजधानी बग्दादमा भएका दुई छुट्टा–छुट्टै आत्मघाती विस्फोटमा परी ८३ जनाको मृत्यु भएको छ । विस्फोटमा १ सय ७६ भन्दा बढी मानिस घाइते भएका छन् ।
कराडास्थित अति व्यस्त सहरकाबीच एउटा आत्मघाती कार विस्फोट गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो क्षेत्रमा सर्वसाधारणको किनमेल र मनोरन्जनका लागि चहलपहल थियो । त्यसको केही क्षणपछि नै राजधानीबाट केही उत्तर शिया समुदायको बाहुल्य रहेको क्षेत्रमा अर्को विस्फोट गराइएको संचारमाध्यमले उल्लेख गरेका छन् ।
गत हप्ता पनि फजुल्लाहामा प्रहरीका जवान सवार बसमा लक्षित गरी इस्लामिक स्टेट आइएसआइले विस्फोट गराएको थियो । विस्फोटमा परी ४० प्रहरी जवानको मृत्यु भएको थियो ।
विस्फोट गरिएको उक्त सहर आइएसआई विरुद्धको कारबाहीका लागि प्रयोग गरिँदै आइएको थियो । सो विस्फोटको आइएसआईले अनलाइनमा एक विज्ञप्ति जारी गर्दै जिम्मा लिएको छ ।