क्यानबेराको काङ्गा कपमा पुरुषहरुसँगै फुटबल खेल्ने यी नेपाली चेली
प्रदीप तिमल्सिना (क्यानबेरा प्रतिनिधि)
छोरा छोरीलाई डाक्टर र इञ्जिनियर पढाउनु पर्छ भन्ने सोचाई अहिले पनि विद्यमान छ । तर अवसर र प्रोत्साहन पाएको खण्डमा छोरीले पनि छोरा जस्तै प्रतिस्पर्धा गर्न सक्छ भन्ने उदाहरण बनेकी छिन् डेनिसा अधिकारी ।
न्यू साउथवेल्सको हर्नस्बी हाईट निवासी दीपक अधिकारी अनि पम्फा धिताल अधिकारीकि जेठी छोरी एघार वर्षिय डेनिसा क्यानवेरामा हरेक वर्ष आयोजना हुने काङ्गा कप खेलको मैदानमा पुरुष खेलाडीहरुसंग मैदानमा देख्दा जो कोहीको आखा उनैमा जान्थ्यो अझ मुख्य स्ट्राईकरका रुपमा पुरुष खेलाडीसंग सामना गर्दै उत्क्रिष्ट खेल प्रदर्शन गरि आफ्नो कोच अनि दर्शकको मन जित्न सफल डेनिसाको खेल कौशल प्रसंशनीय छ ।
बुवा दीपक अधिकारीको प्रेरणाले आठ बर्षको उमेर देखि फूटबल खेल्न थालेकी डेनिसा सिड्नीको लिण्डफिल फूटबल क्लबको एघार वर्ष मुनिको उमेर समूहबाट खेल्ने गर्छिन् । डेनिसाका बुवा दीपक भन्छन “म कुनै एक जमानामा नेपालको एनआरटी र अन्नपुर्ण टिम बाट खेल्थें तर बिबिध कारणले फूटबल खेललाई निरन्तरता दिन सकिनँ, म चाहन्छु मेरो छोरा छोरीले फूटबललाई निरन्तरता दिउन् त्यसैले फूटबल स्कुलमै पढाएको छु ।”
न्यू साउथवेल्सको कारियोंग स्थित अन्तराष्ट्रिय फूटबल बिद्यालयमा कक्षा ५ मा अध्यनरत डेनिसा फूटबलको प्रारम्भिक अध्ययन गर्ने अनि अस्ट्रेलियाको फूटबल प्रतियोगिता काङ्गा कपमा भाग लिने सम्भवत पहिलो नेपाली चेली हुन् । डेनिसा अधिकारीले क्यान्वेरामा सम्पन्न कान्गा कपमा पुरूषको टिमबाट स्ट्राईकरका रूपमा खेली उत्क्रिष्ट खेल प्रदर्शन गरेकी छिन । डेनिसाले यही उत्साह र जोशलाई निरन्तरता दिन सकेको अवस्थामा भविष्यमा फूटबलमार्फत नेपाल र नेपालीको नाम उच्च राख्ने आशा गर्न सकिन्छ ।