ट्राफिक जाममा परेर इन्डोनेसियामा १२ जनाको मृत्यु
इन्डोनेसियामा ट्राफिक जाममा फसेर १२ जनाको मृत्यु भएको छ । केही दिनदेखि जाममा फसेकाहरु पानी पिउन नपाएर र थकानका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
जाभा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका कारण एउटै ट्राफिक सिग्नलमा सवारी साधनको जाममा लाखौं मानिस फसेका हुन् । इन्डोनेशिया ट्राफिक विभागका अधिकारीका अनुसार तीन दिनमा जाममा फसेका १२ को मृत्यु भएको हो ।
इन्डोनेशियाका सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा बृद्धबृद्धाको संख्या बढी छ, जसको सवारी साधन जाममा फस्दा तातेको थियो । जबकी एक बच्चीको भने सवारीसाधनबाट निक्लिएको विषाक्त ग्यासका कारण निधन भएको जनाइएको छ ।