सेरेना विलियम्सलाई कीर्तिमानी २२औं ग्रान्डस्लामको उपाधि
विश्व नम्बर एक अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्सले कीर्तिमानी २२औं ग्रान्डस्लाम जितेकी छन् ।
इङ्ल्यान्डमा भएको विम्बल्डन टेनिस जित्दै सेरेनाले जर्मन खेलाडी स्टेफी ग्राफले राखेको कीर्तिमानको बराबरी गरेकी हुन् ।
शनिबार भएको विम्बल्डन टेनिसको फाइनलमा छैटौं विश्व वरीयताकी जर्मन खेलाडी एन्जेलिक केर्बरलाई ७–५ र ६–३ को सोझो सेटमा हराउँदै सेरेनाले उपाधि जितेकी हुन् । यो उनको सातौं विम्बल्डन उपाधि हो ।
पुरुष एकलको उपाधि भिडन्त भने आइतबार हुँदैछ । उपाधिका लागि विश्व नम्बर दुई ब्रिटिस खेलाडी एन्डी मरे र क्यानेडियन खेलाडी मिलोस राओनिक भिड्नेछन् ।
मरेले सेमिफाइनलमा चेक खेलाडी टमस बर्डिचलाई हराएर तेस्रोपटक विम्बल्डन टेनिसको फाइलनमा ठाउँ बनाएका हुन् ।
त्यस्तै, छैठौं वरीयताका राओनिकले सातपटकका च्याम्पियन विश्व नम्बर तीन स्वीस खेलाडी रोजर फेडेररलाई हराएर फाइनलमा पुगेका हुन् ।