घरेलु टोली फ्रान्सलाई हराउँदै कसरी जित्यो पोर्चुगलले युरोकपको उपाधि ?
घरेलु टोली फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकपको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पोर्चुगलले फ्रान्सलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । पोर्चुगलको यो पहिलो अन्तर्राष्ट्रि उपाधि हो । आफ्नो सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई सुरुमा नै गुमाए पनि पोर्चुगल युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको हो ।
अतिरिक्त समयमा एइडरको गोलको मदतमा घरेलु टोलीलाई १–० ले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो ।
पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २१ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो । मिदित्री पयेटसँग ठोक्किएर घुाडामा चोट बोकेका उनी केहीबेरपछि रुँदै स्ट्रेचरमा बसेर मैदानबाट बाहिरिएका थिए ।
तर, उपाधिको दाबेदार मानिएको फ्रान्सले रोनाल्डोको अनुपस्थितिलाई सदुपयोग गर्न सकेन ।
१०८ औं मिनेटमा पोर्चुगलका ग्यारेरोको फ्रिकिक पनि बारमा लोगर फर्कियो । तर, त्यसको एक मिनेटपछि नै एइडर गोल गर्न सफल भए ।
फ्रान्सका कोसेल्नीलाई विट गर्दै उनके करिव २५ यार्ड टाढाबाट बल हानेका थिए । र, फ्रान्सेली किपरले बलतर्फ डाइभ पनि हानेका थिए तर, बलले निकै लोभलाग्दोसाग जाली चुम्यो ।
उसो त खेलमा फ्रान्सले अन्य केही सुन्दर मौकाहरु पनि खेल फालेको थियो । उसका स्टारम्यान एन्टोनी ग्रिजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोकेका थिए ।
२००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो ।
एकपछि अर्को खेलमा सुधार गरेको उसले फ्रान्सलाई हराएर पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको छ । र, क्लब फुटबलमा सबै सफलता हात पारेका रोनाल्डोले अन्ततः देशका लागि ठूलो प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।