युरोकप च्याम्पियन पोर्चुगलको भव्य स्वागत (हेर्नुहोस् फोटो फिचरसहित)
युरोकप विजेता पोर्चुगल टोलीको भव्य स्वागत गरिएको छ । आइतबार राति फ्रान्सको पेरिसमा भएको युरोकप २०१६ को फाइनलमा घरेलु टोलीलाई १–० ले हराएर फर्किएको पोर्चुगिज टिमको राजधानी लिस्बोनमा भव्य स्वागत गरिएको हो ।
प्रशिक्षक फर्नान्डो सान्टोस र कप्तान क्रिष्टियानो रोनाल्डोको विजयी टोलीलाई राष्ट्रपति मार्सेलो रिबेलो डी सोउसाको नेतृत्वमा रहेको सरकारी टोलीले लिस्बोनमा उत्साहपूर्ण स्वागत गरेको हो ।
पोर्चुगलको विजयी टिम सवार जहाज अन्तर्राष्ट्रिय एयर फोर्सका दुई वटा जेटको सुरक्षामा राजधानी लिस्बोनमा अवतरण भएलगतै प्रशिक्षक सान्टोस र कप्तान रोनाल्डो पहिले विमानबाट निस्किए, त्यसपछि अरु खेलाडीले उनीहरुलाई पछ्याएका थिए ।
विमान अवतरण भएपछि राष्ट्रिय टिमको रंग रातो र हरियो रंगका पानीको फोहोरा फालिएको थियो । रोनाल्डोले घाँटीमा आफ्नो जन्म स्थान माडिएराको झण्डा तथा कम्मरमा पोर्चुगलको राष्ट्रिय झण्डा बेरेका थिए । विमानबाट उत्रिएका सबै खेलाडीलाई दुई वटा बसमा राखेर नगर परिक्रममा गराइएको थियो ।
नगरमा लाखौं नागरिकले उनीहरुको स्वागत गरेका थिए । त्यसपछि उनीहरु राष्ट्रपतिलाई भेट्न गएका थिए ।
स्वागत समारोहमा राष्ट्रपति मार्सेलोले विजयी टिमलाई पोर्चुगलमाथि विश्वास गर्नुको अर्को कारण थपेको भन्दै बधाई ज्ञापन गर्नुभयो । स्वागत समारोहमा प्रशिक्षक सान्टोसले यो जित सम्पूर्ण पोर्चुगलका नागरिकको रहेको बताए । यस्तै कप्तान रोनाल्डोले यो जितको हिस्सा पोर्चुगलका सबै नागरिक रहेको र इतिहासमा आफूहरुसँगै सबै नागरिक पात्र बन्ने बताए ।