टेरेसा मे बनिन् बेलायती प्रधानमन्त्री
टेरेसा मे बेलायतको नयाँ प्रधानमन्त्री बन्नुभएको छ । डेबिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीकी नेतृ टेरेसा नयाँ प्रधानमन्त्री बन्नुभएको हो ।
बेलायत युरोपियन युनियनबाट बाहिरिने पक्षमा मतदान भएपछि क्यामरुनले राजीनामा दिनुभएको हो । प्रधानमन्त्री बनेलगत्तै टेरेसाले इयुबाट बाहिरिएपछि बेलायतले विश्वमा आफ्नो छुट्टै र साहसी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले आफ्नो सरकार केही विशेष व्यक्तिका लागि नभएर सबै नागरिकका लागि भएको बताउनुभयो ।
प्रधानमन्त्री बनेलगत्तै टेरेसाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । इयुबाट बाहिरिने पक्षमा प्रचारप्रसार गरेका बोरिस जोनसन विदेश मन्त्रीमा नियुक्त हुनुभएको छ । क्यामरुनको सरकारमा विदेश मन्त्री रहेका फिलिप ह्यामण्ड अर्थ मन्त्री बन्नुभएको छ । यस्तै पूर्व उर्जा मन्त्री एम्बर रुड्ड गृहमन्त्री बन्नुभएको छ । यस्तै डेबिस डेविस ब्रेक्सिट मन्त्री बन्नुभएको छ ।
५९ वर्षीया प्रधानमन्त्री टेरेसा मे बेलायतको प्रधानमन्त्री बन्ने दोस्रो महिला हुनुहुन्छ । यसअघि मारग्रेट थ्याचर बेलायतको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको थियो । टेरेसा सन् १९९७ देखि लगातार बेलायती संसद्को सदस्य रहनुभएको छ । टेरेसा प्रधानमन्त्री बन्नुअघि क्यामरुले महारानीसमक्ष राजीनामा बुझाउनुभएको थियो ।