बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको दोस्रो मैत्रीपूर्ण जित


Cricketबेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले टी–ट्वेन्टी मैत्रीपूर्ण खेलमा दोस्रो जित हात पारेको छ । बिहीबार राति भएको खेलमा नेपालले स्थानीय क्रिकेट क्लब इन्डियन जिमखानालाई २० रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जसका लागि सागर पुनले ५५ रनको योगदान गरे । सागरले ४७ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५५ रन बनाए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले २० बल खेल्दै चार चौकाको मद्दतमा ३८ रन बनाए । कप्तान पारस खड्काले ८ बल खेल्दै १५ रन बनाए भने राजेश पुलामीले १३, राजु रिजालले २४, सुवास खकुरेलले ६ र विनोद भण्डारीले २ रनको योगदान गरे ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको इन्डियन जिमखानाले पुरै ओभर खेलेर सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । इन्डियन जिमखानाका लागि पुनिट के मेराले सर्वाधिक ४७ रन बनाएका थिए ।

इन्डियन जिमखानालाई सस्तैमा समेट्ने क्रममा  बिक्रम सोव, करन केसी, शक्ति गौचन र सागर पुनले दुई/दुई विकेट लिएका थिए । त्यस्तै कप्तान पारस खड्काले एक विकेट लिए ।

 

नेदरल्यान्डसँगको विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चार वटा मैत्रीपूर्ण खेल खेल्ने छ । टोलीले पहिलो अभ्यास खेलमा बेलायतको फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १ सय २९ रनले हराएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?