प्रहरी र काला समुदायलाई मिलेर अघि बढ्न ओबामाको आग्रह
अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रहरी र काला समुदायलाई मिलेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
अमेरिकामा बढ्दो जातीय तनावपछि एबीसी टेलिभिजनको छलफलमा बोल्दै राष्ट्रपति ओबामाले एक अर्काका विचार सुन्दै सबै नजिक हुनु आवश्यक भएको बताउनुभयो । नयाँ पुस्ताले प्रहरीलाई विश्वास गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै उहाँले प्रहरी एक्लैलाई भारी थोपर्न नसकिने उल्लेख गर्नुभयो ।
राष्ट्रपति ओबामाले अश्वेत र ल्याटिन अमेरिकी जनतामा विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा समेत जोड दिनुभयो । केही दिन अघि लुजियाना र मिनेसोटा राज्यमा गोरा प्रहरीबाट काला व्यक्ति मारिएपछि त्यसको बदला स्वरुप डलासमा गत हप्ता एक व्यक्तिले पाँच जना प्रहरीको गोली हानी हत्या गरेका थिए । यसपछि प्रहरी र जनताबीचको सम्बन्धलाई लिएर बहस शुरु भएको छ ।