फ्रान्सको नीस शहरमा भएको आतंकवादी आक्रमणमा कम्तिमा ८४ जनाको मृत्यु
फ्रान्सको नीस शहरमा आतंकवादी आक्रमणमा परी कम्तिमा ८४ जनाको मृत्यु भएको छ । आक्रमणमा एक सयभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये १८ को अवस्था गम्भीर छ ।
बास्टिल डे मनाउन मेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरी गुडाएर आतंकवादी आक्रमण गरिएको हो । बास्टिल डे लाई फ्रान्समा राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा उत्सव मनाइरहेको भीडमा लरी गुड्दा ठूलो संख्यामा मानिस मारिएको बताइएको छ । लरीलाई रोक्न प्रहरीले गोली चलाएको र सोही क्रममा चालकको मृत्यु भएको बताइएको छ । लरीमा ग्रिनेड तथा बन्दुक फेला परेको अधिकारीहरुले जनाएका छन् । लरी चालक ट्युनिसियाली मूलको र नीस निवासी रहेको बताइएको छ ।
यसैबीच फ्रेञ्च राष्ट्रपति फ्रान्स्वाँ ओलाण्दले घटनालाई आतंकवादी आक्रमण भन्दै गत वर्षदेखि जारी आपतकालिन अवस्था थप तीन महिना लम्ब्याउने घोषणा गर्नुभएको छ । उहाँले फ्रान्समा इस्लामिक आतंकवादको खतरा रहेको समेत बताउनुभयो । साथै इस्लामिक अतिवादी समुह आईएस विरुद्ध सिरिया र इराकमा कारवाही जारी राख्ने उहाँको घोषणा थियो । गतवर्ष राजधानी प्यारिसमा आइएसले १ सय ३० जना मारिने गरि गरेको आक्रमण पछि फ्रान्सभर आलतकालीन अवस्था लागू गरिएको थियो ।