दूतावास र महावाणिज्यदूतको कार्यालय न्यूसाउथवेल्सबाट सिड्नीमा नेपाल प्रबद्र्धन कार्यक्रम
नेपाली दूतावास क्यानबेरा र न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदुतको कार्यालयको आयोजनामा सिड्नीमा नेपाल पब्रद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गत बुधबार आयोजना गरिएको कार्यक्रममा न्यूसाउथवेल्समा सही नेपाली पर्यटनमा सहयोग गरिरहेका संघसंस्थाका प्रतिनिधि, ट्राभल एण्ड टूर अपरेटरहरुको साथै समूदायका अगुवाहरुको सहभागिता थियो । उक्त अवसरमा बोल्दै कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले विनाशकारी भूकम्प पछि पनि नेपालमा जाने पर्यटकको संख्यामा कमी नआएको भन्दै अष्ट्रेलियाबाट नेपाल जाने पर्यटकको संख्या बढिरहेको बताउनुभएको थियो । नेपालका पर्यटकीय गन्तव्यहरुको बारेमा यथेष्ठ प्रचार गर्नसके यो संख्या अझै बढ्ने पनि उहाँको धारणा थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा अष्ट्रेलियन हिमालय फाउण्डेशनका साईमन ब्लडेस्टोन, रोटेरियन जेनिस रिड, नेपालको ५० पटकभन्दा बढी भ्रमण गरेका क्रिश वाकर लगायतले बोल्नुभएको थियो । उक्त अवसरमा आफ्नो धारणा राख्दै क्रिश वाकरले नेपालमा उच्चस्तरीय पर्यटक लैजाने आफ्नो प्रयत्न सदैव रहने बताउनुभयो । नेपाल र नेपालीको न्यानो सत्कारका कारण त्यहाँ पुग्ने पर्यटकहरु आत्मीय सुख लिएर फर्कने गरेको उहाँको धारणा थियो । यसैगरी अन्य वक्ताहरुले पनि नेपालमा पर्यटन प्रबद्र्धन गर्नु भूकम्पबाट आहत भएका नेपालीलाई सहयोग हुने धारणा राखेका थिए । न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदुत दिपक खड्काले एक नेपालीले एक पर्यटकलाई नेपाल जान प्रेरित गर्न सके यसले सकारात्मक परिणाम ल्याउने धारणा राख्नुभयो । उहाँले नेपालको पर्यटन प्रबद्र्धनमा सहयोगी संघसंस्थाालई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर हुने अपेक्षा गर्नुभयो । उक्त अवसरमा नेपालको संस्कृति झल्कने विविध सांगीतिक प्रस्तुति पनि देखाइएको थियो ।