अष्ट्रेलियावासी गीतकार, गायक गायिकाले सांगीतिक उडान भर्दै


नेपाली सांगीतिक क्षेत्रमा पहिलो पटक प्रवासमा रहेर सांगीतिक साधना गरिरहेका श्रष्टाहरुले सामूहिक प्रयत्नमा एल्बम सार्वजनिक गर्न लागेका छन् । अष्ट्रेलियाबाट रिलिज गर्न लागिएको यो एल्बममा अष्ट्रेलियामै बसोबास गर्ने गायक गायिकाहरुले स्वर दिएका छन् । यसैगरी गीतकारहरु पनि अष्ट्रेलियावासी नै छन् । हो, यतिबेला हामीले चर्चा गर्न लागेको करिब एक वर्षको मेहनतपछि तयार भएको सांगीतिक उडानको हो । udanउडान एल्बम सार्वजनिक र यिनै कलाकारहरुको साथ म्युजिकल कन्सर्ट आगामी सेप्टेम्बर १० तारिखका दिन सिड्नीको मराना अडिटोरियममा हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज सिड्नी च्याप्टर र अल्प ईन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा गर्न लागिएको यो कन्सर्टमा गायकहरु ईश्वर पोखरेल, समिर आचार्य, सुजाता उपाध्याय, सञ्जीव पराजुली, नरेन कुलुङ र मोक्षदा सिलवालले आफ्नो प्रस्तुति दिनेछन् । यही कार्यक्रमबाटै अष्ट्रेलियावासी गायक गायिकाहरुको स्वरमा सजिएको एल्बम उडान समेत सार्वजनिक गरिनेछ । ६ जना गायक गायिकाको एक एक वटा गीत र एउटा संयुक्त गीतका साथ यो एल्बममा ७ वटा गीत समावेश गरिएको छ । आयोजकमध्येको एक संस्था अल्प ईन्टरटेन्मेन्टका मनोज अधिकारीले एमएनटीभीसँग भने, “हामीले सेप्टेम्बर १० मा गरिने कन्सर्टमा सहभागी हुनका लागि ३० डलरको टिकट राखेका छौं । कार्यक्रममा सहभागीहरुले एल्बम रिलिज गरेपछि उक्त एल्बम समेत सोही टिकटबाटै पाउनुहुनेछ ।” एल्बममा समावेश भएका गीतमा न्हुयू बज्राचार्य, अर्जुन पोखरेल, राजनराज सिवाकोटी, कल्याण सिंह, आनन्द राई, हेमन्त राना र भानु ढकालले संगीत दिनुभएको छ भने सबै गीत सिड्नीकै साहित्यकार निस्प्रभ सजी र प्रदिप चापागाईंले लेख्नुभएको हो । अधिकारीले भने, “नेपाली सांगीतिक आकाशमा यो एउटा नौलो प्रयोग हुनेछ । हामीले यी गीतका सबै म्युजिक भिडियो पनि अष्ट्रेलियामै तयार पार्दैछौं । यी भिडियोमा प्रयोग हुने सम्पूर्ण प्रविधि र जनशक्ति पनि यहीँका स्थानीय नै हुनेछ ।” प्रवासको भूमिमा रहेर पनि नेपाली सांगीतिक आकाशमा एउटा नयाँ प्रयोग गर्दै नयाँ उडानका लागि यसमा संलग्न सम्पूर्ण टिम बधाईको पात्र बनेको छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?