काठमाण्डू टू सिड्नी: परोपकारका लागि दिक्षित र मानन्धरको कला
सिड्नीमा चर्चित कलाकार कपिलमणि दिक्षित र नेपालको ललितकला क्याम्पसका पूर्वप्रमुख राजु मानन्धरको संयुक्त चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । डोल्पामा जिल्लामा शिक्षाको विकासका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको उक्त चित्रकला प्रदर्शनीको अष्ट्रेलियामा नेपाली समूदायका अगुवाहरु डा. नारायण प्रधान र ईन्द्रा वनले संयुक्त रुपमा गर्नुभएको थियो । अष्ट्रेलियामा नेपाली चित्रकारहरुको संयुक्त कला प्रदर्शनी भएको यो पहिलो पटक हो । कार्यक्रममा बोल्दै एनआरएन युथ कोअर्डिनेटर विजय पोखरेलले नेपाली कलाका माध्यमबाट समेत चिनाउनुपर्ने देश भएको बताउँदै यसलाई विश्वभरि नै फैलाउनुपर्ने बताउनुभएको थियो । चित्रकारद्वयले यही प्रदर्शनी मेलबर्नमा समेत गर्ने तयारी भएको जानकारी दिएका छन् । आयोजक संस्थाका अनुसार प्रदर्शनीमा कपिलमणि दिक्षितका २८ वटा चित्रकला राखिएको थियो भने मानन्धरका ८ वटा आकर्षक चित्र प्रदर्शनीमा थिए । सिड्नीको रकडेलमा आयोजना गरिएको प्रदर्शनीका नेपालीसहित अन्य समूदायका सदस्यहरुले पनि अवलोकन गरेका थिए । प्रदर्शनीमा राखिएका आधाभन्दा बढी चित्रहरु बिक्री भएको र प्राप्त भएको आर्थिक सहयोग डोल्पाका विद्यालयहरुको स्तरबृद्धि र त्यहाँका विद्यार्थीको छात्रवृत्तिका लागि प्रदान गरिने भएको छ ।