बँदेल मारेको आरोपमा चार जना पक्राउ, आठ केजी बँदेलको मासुसमेत बरामद
बँदेल मारेको आरोपमा सेक्टर वन कार्यालय मंगलबारे झापाले चार जनालाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो चार जनालाई पथरीबाट नियन्त्रणमा लिइएको कार्यालयले जानकारी दिएको छ । पक्राउ परेकाहरुका साथबाट आठ केजी बँदेलको मासुसहित एउटा ‘लोडेड’ भरुवा बन्दुकसमेत बरामद गरिएको सेक्टर वन कार्यालय मंगलबारेले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भुटानी शरणार्थी लालबहादुर सुब्बा, मित्रबहादुर राई र रुद्र राई रहेका छन् । यस्तै, अर्का पथरी शनिश्चरे–१ का जीवन भनिने जयमान लिम्बू छन् ।
वन कार्यालयको नियमित गस्तीका क्रममा शुक्रबार राति १२ बजे लालबहादुर र मित्रबहादुरलाई नियन्त्रणमा लिएको थियो भने त्यसको आधा घण्टापछि अन्यलाई पथरीबाटै नियन्त्रणमा लिएको थियो ।
झोलामा मासु बोकेर दुई जना व्यक्ति डाँसखोलातर्फ जाँदै गर्दा वन कार्यालयको गस्ती टोलीले शंकास्पद लागेपछि चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनीहरूको साथबाट बँदेलको मासु भेटिएको थियो ।