सिड्नीका युवा सम्मिलित ब्रिज द ग्याप नेपालले दशैं साँझ २०७३ आयोजना गर्दै
सिड्नीका एक हुल युवाहरु बिदाको समय समूपयोग गर्दै देशका लागि केही गर्ने भावनाका साथ समाजसेवामा जुटेका छन् । उनीहरुकै उमेरका युवाहरु विभिन्न कुलतमा फसेका घटना पनि सार्वजनिक भइरहन्छन् अष्ट्रेलियामा तर यी युवा भने एउटा अभियान सञ्चालन गर्दछन् जसलाई नाम दिएका छन् ब्रिज द ग्याप नेपाल । यस संस्थाका अध्यक्ष छन् शिव श्रेष्ठ । सन् २०१२ मा सुरु गरिएको यो अभियानले के गर्छ त ? शिव भन्छन्, “नेपालमा केही गरौं, त्यहाँको सामाजिक परिवेशमा रहेको असमानता र विभेदलाई थोरै भए पनि कम गरौं भनेर हामीले सुरु गरेको गैरनाफामूलक यो संस्थाले नेपाल र नेपाली समूदायप्रति युवा पुस्तालाई जिम्मेवार बनाउने लक्ष्य लिएको छ ।”
विदेशी भूमिमा पुगेपछि देशको माया गर्ने, जन्मेको माटोका लागि केही गर्नुपर्छ भन्ने जमात पनि ठूलै हुन्छ । अझ भनौं यसो नभन्ने प्रवासी कोही पनि नहोला । सबै केही न केही आफ्नो गच्छे अनुसार देशका लागि गर्न चाहन्छन् । अष्ट्रेलियाको सिड्नीमा युवाहरुको एक यस्तै समूह छ जसलाई उनीहरुले ब्रिज द ग्याप नेपाल नामाकरण गरेका हुन् । शिक्षा नै समाजलाई परिवर्तन गर्ने दरिलो आधार हो भन्दै यस संस्थामा आबद्ध भएका उनीहरु आफ्नो केही समय खर्च गर्छन् र त्यसबाट जम्मा हुने रकमले नेपालका विभिन्न ठाउँका शैक्षिक संस्थाहरुलाई सहयोग गर्दछन् । मुख्यतः भीडभाड हुने ठाउँमा पुगेर खानाका स्टलहरु राख्ने र त्यसबाट प्राप्त भएको मुनाफालाई संकलन गरी यो परोपकारी कार्य उनीहरुले गर्दै आएका छन् । अहिलेसम्म उनीहरुले तनहुँको सत्यवती उच्च माध्यमिक विद्यालयमा १५ जना बालबालिकाको शिक्षाको जिम्मा लिएका छन् । यसैगरी लम्जुङको शारदा माध्यमिक विद्यालयमा प्राथमिक तहको पुस्तकालय स्थापना गर्नुका साथै न्यून आय भएका ३५ जना विद्यार्थीलाई कापी, कलम, पोशाकको व्यवस्था पनि उनीहरुले गरिदिएका छन् । काठमाडौंको कुमारीगालस्थित आकाशगंगा ईन्टरनेशनल एकेडेमीमा न्यून आय भएका तीन बालबालिकाहरुलाई छात्रवृत्ति सन् २०१५ मा प्रदान गरिएको थियो । यो वर्ष उनीहरुले यो संख्या बढाएर ८ पुर्याएका छन् । निजी गुठी र गैरनाफामूलक यो आकाशगंगा ईन्टरनेशनल एकेडेमीमा पुस्तकालय पनि उनीहरुले स्थापना गरिदिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यो वर्ष उनीहरु विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको शारदा माध्यमिक विद्यालयका क्षतिग्रस्त ४ कोठा मर्मत र ४ कोठा थप गरी महिला र पुरुष छुट्टा छुट्टै शौचालय निर्माण गरिदिने योजनामा छन् । हरेक २ महिनामा सिड्नीको एसफिल्डस्थित बनिङ वायरहाउसमा ससेज सिज्लर्स फन्ड रेजिङका माध्यमबाट उनीहरु सहयोग रकम जुटाइरहेका छन् । आफुजस्तै विभिन्न गैरनाफामूलक संघ संस्थासँग सहकार्य गर्दै अहिलेसम्म २० हजार ७ सय डलर उनीहरुले संकलन गरिसकेका छन् । श्रेष्ठ भन्छन्, “हामीले शारदा माध्यमिक विद्यालयको ४ कोठा मर्मत र ४ कोठा थप तथा शौचालय समेत बनाउने योजनाका लागि रकम अपुग हुने देखेपछि अक्टोबर २ तारिखका दिन दशैं साँझ २०७३ गर्दैछौं । यस कार्यक्रम मार्फत थप रकम जुटाएर योजना पूरा गर्ने तयारी छ ।” ब्रिज द ग्याप नेपालको यो अभियानमा अध्यक्ष श्रेष्ठसँगै स्वयंसेवी भावनाले समेटिएका छन् अञ्जना सिंह, कृष्ण श्रेष्ठ, सुजीता प्रधान, विकास प्रधान, दिपु दाहाल, विक्रम खरेल, बिमल ढकाल, कुशल श्रेष्ठ, सुरक्षा त्रिपाठी, प्रकाश खत्री र निर्मल अधिकारी । सबै भन्छन्, “समाजको उत्थानका लागि हामीले आयोजना गरेको दशैं साँझ २०७३ मा सबैको सहयोग हामीले अपेक्षा गरेका छौं ।” आगामी अक्टुबर २ तारिख आयोजना गरिने दशैं साँझमा चर्चित हाँस्य कलाकार मनोज गजुरेल र गायिका ईन्दिरा जोशी प्रमुख आकर्षण रहेका छन् ।