जापानको एक मानसिक अपांगताहरुका लागि बनाइएको आवासीय क्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण गरी १९ जनाको हत्या
जापानको टोकियो नजिकै रहेको मानसिक अपांगता भएका व्यक्तिहरुका लागि बनाइएको आवासीय क्षेत्रमा एक व्यक्तिले चक्कुले आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।
मानसिक अपांगता भएकाहरुको रेखदेखका लागि सागमिहारामा बनाइएको आवास क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा अन्य २६ जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
राजधानी टोकियोबाट ४० किलोमिटर दक्षिण पश्चिममा रहेको आवासीय केन्द्रमा प्रवेश गरेर चक्कुले आक्रमण गर्ने २६ वर्षीय सातोशी उएमाट्सुलाई प्रहरीले पक्राउ गरेको छ । उनी रेखदेख केन्द्रका पूर्व कर्मचारी रहेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पक्राउ परेका उएमाट्सुले रेखदेख केन्द्र नजिकै रहेको प्रहरी चौकीमा गएर आफूले आक्रमण गरेको भन्दै अपराध स्वीकार गरेको बताइएको छ । आक्रमण के कारणले गरियो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।