पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमका लागि भवानी ओलीबाट १० लाख सहयोग
एनआरएन अष्ट्रेलियाले सञ्चालन गरेको परोपकारी परियोजना पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमका लागि सहयोग जुट्ने क्रम जारी छ । यसैक्रममा सिड्नी निवासी व्यवसायी एवं समाजसेवी भवानी ओली र परिवारले १० लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ओलीले एमएनटीभीसँग कुरा गर्दै भन्नुभयो, “१० लाख प्रदान गर्ने दाताले ईच्छाएको व्यक्तिको नाममा एउटा कोठा निर्माण गरिने कुरा सुनेर हामी उत्साही भयौं । आफ्ना अभिभावकप्रति गर्ने दायित्व समेत स्मरण गरेर जेष्ठ नागरिकहरुको सेवाका लागि हाम्रो यो कदम हो । जसरी बालबालिका भगवानका रुप हुन् त्यसैगरी जेष्ठ नागरिकहरु पनि श्रद्धाका पात्र हुनुहुन्छ । उहाँहरुको सेवा गर्न पाउनु साँच्चै खुशीको कुरा हो ।” भवानी ओली ओली एण्ड एशोसिएट्सका निर्देशक हुनुहुन्छ ।
ओली एण्ड एशोसिएट्सले विगत एक दशभन्दा लामो समयदेखि अष्ट्रेलियामा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । एनआरएन पूर्वअध्यक्ष महेन्द्र ओलीको कार्यकालमा सुरु भएको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको निर्माणका लागि वाक फर नेपाल समेत सञ्चालन भइसकेको छ भने अहिले अष्ट्रेलियाका विभिन्न राज्यमा फन्डरेजिङ कार्यक्रमहरु भइरहेका छन् । ब्रिसबेनमा सञ्चालित सहयोग कार्यक्रमबाट १८ लाख जुटेको थियो भने सिड्नीमा आगामी २९ जुलाईका दिन एनआरएन न्यूसाउथवेल्सको आयोजनामा कार्यक्रम हुँदैछ । न्यूसाउथवेल्सबाट मात्रै अहिलेसम्म ५० लाख सहयोगको प्रतिबद्धता आइसकेको छ । एनआरएन उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेल न्यूसाउथवेल्सले यस परियोजनाका लागि एक करोडसम्म सहयोग संकलन गर्ने बताउनुभयो । “जेष्ठ नागरिकहरुको मुहारमा खुशीको हाँसो ल्याउनका लागि न्यूसाउथवेल्स निवासी नेपाली दाजुभाईहरुले जुन उत्साह देखाउनुभएको छ यो वास्तवमै प्रशंसनीय छ”, पोखरेलको भनाई छ । एनआरएन अष्ट्रेलिया परोपकारी परियोजनाका संयोजक रमेश पाण्डेले छिट्टै मेलबर्नमा समेत फन्डरेजिङ डिनर आयोजना गर्ने तयारी भएको जानकारी दिनुभयो । एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले एनआरएन अष्ट्रेलियाले नेपालमा बनाउने अहिलेसम्मकै सबैभन्दा ठूलो परोपकारी परियोजना सफलताउन्मुख भएको प्रतिक्रिया दिनुभयो । “हामी अझै पनि यसकार्यमा हातेमालो गर्न सबैलाई आग्रह गर्दछौं”, रेग्मीको भनाई छ । यसअघि, सिड्नीका मुकेश रेग्मी एघार लाख, बद्री अर्याल र सञ्जीव शर्मा एघार लाख, दिपक खड्का १० लाख, प्रदिप ढकाल १० लाख र पर्थबाट भैरव ढकालले १० लाख दिने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ ।