नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डको आयोजनामा स्वागत कार्यक्रम हुँदै
क्वीन्सल्याण्ड राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था क्वीन्सल्याण्ड नेप्लीज एशोसिएसनको आयोजनामा नेपालबाट भर्खरै आएका विद्यार्थी, अभिभावक र अन्य नेपालीहरुलाई स्वागत गरिने भएको छ । एशोसिएसनको वार्षिक कार्यक्रम अन्तर्गत आगामी ३० जुलाई शनिबारका दिन यस्तो स्वागत कार्यक्रम गर्न लागिएको हो । शनिबार विहान ११ बजेदेखि ३ बजेसम्म स्थानीय रोमा स्ट्रीक पार्कल्याण्ड ब्रिसबेनमा आयोजना गरिने कार्यक्रममा परिचय आदानप्रदान, अष्ट्रेलिया बसाईका बेला ध्यान दिनुपर्ने विभिन्न विषयका बारेमा जानकारी समेत दिइनेछ । मुख्यत समूदायमा आउने नयाँ सदस्य र क्वीन्सल्याण्डमा बसोबास गर्दै आएकाहरुबीच परिचय आदान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । यस कार्यक्रमका संयोजक त्रिलोचन पोखरेलले एमएनटीभीसँग कुरा गर्दै भन्नुभयो, “क्वीन्सल्याण्डमा बसोबास गर्ने नेपालीहरुको संख्या बढिरहेको छ । साथै, नयाँ आउने क्रम पनि छ । एकअर्काबीच परिचय आदान प्रदान गर्ने र समूदायका विभिन्न कार्यक्रमहरुका विषयमा जानकारी लिनदिने विषयलाई पनि यस्तो कार्यक्रमले सघाउ पुर्याउने हाम्रो आशा छ ।” बार्बिक्यूसहित आयोजना गरिने कार्यक्रममा सहभागिताका लागि संस्थाले आह्वान गरेको छ । साथै, भर्खरै क्वन्सल्याण्ड आइपुग्नुभएका आफ्ना साथीहरुलाई यस कार्यक्रमको बारेमा जानकारी दिन पनि संस्थाले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । संस्थाले यस लगत्तै आगामी अगष्ट २१ तारिखका दिन नेपाल ईन पार्क र सेप्टेम्बर ३ तारिखका दिन तीज महोत्सव पनि आयोजना गर्ने तयारी गरेको छ ।