अमेरिकी राष्ट्रपतिका उम्मेदवार क्लिन्टनको वेभसाइट ह्याक, रुसको संलग्नता रहेको आरोप


Clintonअमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको चुनाव अभियानसँग सम्बन्धित वेभसाइट र जानकारीहरु ह्याक गरिएको छ । यो डेमोक्रेटिक पार्टीविरुद्धको ठूलो साइबर आक्रमण भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ह्याक गरिएकोमा डेमोक्रेटिक नेशनल कमिटी तथा डेमोक्रेटिक कांग्रेस्नल क्याम्पेन कमिटीसँग सम्बन्धित जानकारी छन् । साइबर आक्रमणको पछाडि रुसी सरकारका लागि काम गर्ने एजेन्टको हात रहेको दाबी अमेरिकी अधिकारीहरुले गरेका छन् । रुसले अमेरिकामा हुने राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजिरहेको आशंका सञ्चारमाध्यमहरुले गरेका छन् ।

यसअघि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नाविरुद्ध रुसको प्रयोग गरिरहेको आरोप स्वयं क्लिन्टनले लगाउनुभएको थियो । यद्यपि, रुस सरकारले भने साइबर आक्रमणमा आफ्नो कुनै हात नरहेको जनाएको छ । अमेरिकाको यस्तो आरोपलाई उसले ‘द्वेष भरिएको रुस विरोधी’ भनाइ भन्दै निन्दा गरेको छ । ह्याकिङबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको संघीय जाँच ब्यूरो एफबीआईले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?