मेलबर्नमा कोबर्ग राइनोज फुटबल क्लब र गोर्खाली क्रिकेट क्लब स्थापना (भिडियोसहित)
मेलबर्नमा नयाँ नेपाली फुटबल र क्रिकेट क्लबको स्थापना गरिएको छ । कोबर्ग राइनोज फुटबल क्लब र गोर्खाली क्रिकेट क्लबको उद्घाटन आइतबार आयोजित विशेष कार्यक्रमकाबीच गरिएको हो । मेलबर्नको बिगबेली एशियन रेष्टुरेन्टको हलमा आयोजना गरिएको विशेष समारोहकाबीच क्लबको सुरुवात भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले गर्नुभयो । ग्रेस ईन्टरनेशनल, बिग बेली र यति ट्राभल्स मेलबर्नले क्लबलाई प्रायोजन गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै महावाणिज्यदूत योञ्जनले विगतमा भिक्टोरियामै पहिलो पटक नेपाली क्लब खोल्नका लागि गरेका प्रयासहरुको चर्चा गर्नुभयो । उहाँले नयाँ खुलेका क्लबले फुटबल र क्रिकेटको क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गर्दै सफलताको कामना गर्नुभयो । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका महासचिव टोनु घोतानेले क्लब शुभारम्भको शुभकामना दिँदै मेलबर्न राइनोज फुटबल क्लब शिव देवकोटाको नेतृत्वमा र गोर्खाली क्रिकेट क्लब प्रयास सुवेदीको अगुवाईमा सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो । यसैगरी मुख्य प्रायोजकहरुको तर्फबाट बोल्दै ग्रेस ईन्टरनेशनलका प्रबन्ध निर्देशक रामचन्द्र पौडेल र मेलबर्न निर्देशक दिपक आचार्यले खेलको माध्यमबाट स्वस्थ र अनुशासित समाज बनाउने प्रयासमा साथ रहेको बताउनुभयो । उहाँहरुले नेपाली क्लबलाई सहयोग गर्न र सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।
उहाँहरुले यहाँका खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै नेपालमा समेत आफ्नो क्षमता देखाउन सकुन् भन्ने सदिक्षा रहेको धारणा राख्नुभयो । कार्यक्रममा न्याभका पूर्वअध्यक्ष एवं नेपाली समूदायका अगुवा बम योञ्जन, न्याभका सचिव तारा गैरे, चितवन समाजका अध्यक्ष सोम तामाङ, पूर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सुनम गौतम लगायतले क्लबको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विविध मनोरञ्जनात्मक प्रस्तुतिमा उपस्थित अतिथिहरु रमाएका थिए । उक्त अवसरमा दुईवटै क्लबको जर्सी पनि सार्वजनिक गरिएको थियो ।
Please watch video highlight