भारतमा बाढीका कारण ९६ जनाको मृत्यु, १० लाखलाई शरणार्थी शिविरमा लगियो
भारतमा भारी वर्षापछि आएको बाढीमा परी ९६ जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीका कारण १० लाखभन्दा बढीलाई शरणार्थी शिविरमा लगिएको अधिकारीहरुले जनाएका छन् ।
भारी वर्षा र बाढीले विहार, आसाम र हिमाञ्चल प्रदेशलाई बढी प्रभावित पारेको हो । तीन राज्यमा भारी वर्षापछि आएको बाढीमा परी ९६ जनाको मृत्यु भएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।
विहारमा करिब २ लाख ६० हजार बाढी पीडितलाई राज्य सरकारद्वारा बन्दोबस्त गरिएका चार सयभन्दा बढी उद्धार शिविरहरुमा राखिएको बताइएको छ । त्यसैगरी सो बाढी पीडितलाई राखिएको उक्त इलाकामा चार सयभन्दा बढी स्वास्थ्य शिविरको पनि बन्दोबस्त गरिएको पनि समाचार जानकारी दिइएको छ ।
त्यसैगरी आसाममा करिब ३८ लाख व्यक्ति हालै आएको यस बाढीबाट प्रभावित भएको राज्य अधिकारीले जनाएका छन् । बाढी प्रभावित ती व्यक्तिहरुमा सात लाखभन्दा बढीलाई सात सय ७० वटा उद्धार शिविरमा लगिएको राज्य अधिकारीले जानकारी दिएका छन् ।