इजिप्टको सेनाले गरेको कारबाहीमा आइएसका एक प्रमुख नेतासहित ४५ जना भन्दा बढीको मृत्यु
इजिप्टको सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट आइएसका सिनाई इकाई प्रमुखसहित ४५ जनाभन्दा बढीको मृत्यु भएको छ ।
आइएसको सिनाई इकाई अर्थात् अन्सार बेत अल–मकदिस समूहमाथि सेनाले गरेको हवाई आक्रमणका क्रममा सिनाई इकाइका प्रमुख अबु दुआ अल–अन्सारीसहित ४५ जनाभन्दा बढीको मृत्यु भएको हो ।
इजिप्टका सेना प्रमुखले आइएसको गढ मानिने अल–अरिस शहर नजिक गरिएको हवाई आक्रमणमा उनीहरु मारिएको बताएका छन् । सिनाई इकाई इजिप्टको सबैभन्दा बढी सक्रिय चरमपन्थी गुट मानिँदै आएको छ । उसले विभिन्न आक्रमण गर्दै आएको छ । सेनाले हवाई आक्रमणमा चरमपन्थी समूहका अन्य धेरै घाइते भएको र ठूलो संख्यामा हतियार नष्ट भएको दाबी गरेको छ ।
अन्सार बेत अल–मकदिस समूह सिनाई इलाकामा सन् २०११ देखि सक्रिय रहेको छ । घटनाका बारेमा सो समूहले कुनै प्रतिक्रिया दिएको छैन ।